२७ फागुन, काठमाडौं । नेकपा एमालेले र जनमत पार्टीले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएका छन् ।
संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमाले जनमतले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो ।
एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतलाई उजुरी बुझाए ।
‘नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरीत तथा विगतको दुबै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी श्री रामसहाय प्रसाद यादवको उम्मेदवारी परेकाले पुरुषबाहेक महिलाहरु अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा उल्लिखित संवैधानिक र कानुनी व्यवस्था तथा निर्वाचन आयोगको मिति २०७९/११/२६ को निर्णय र सो आधारमा जारी निर्देशनसमेतको विरुद्धमा हुँदा वहाँको उम्मेदवारी खारेज गरिपाउँ’ उजुरीमा भनिएको छ ।