नेपाल बाट बंगलादेश विद्युत् निर्यात गर्न भारतले आयोजनाको नाम माग्यो

83

फागुन ८,
नेपालबाट बंगलादेशमा विद्युत् निर्यातका लागि भारतले एक तहको अग्रसरता देखाएको छ । भारतले आफ्नो भूमि हुँदै बंगलादेशसम्म प्रसारण लाइन प्रयोग गर्न ‘नेपालले कुन आयोजनाको बिजुली पठाउने हो, त्यसको नाम तोकेरै प्रस्ताव पेस गर्न’ आग्रह गरेको छ ।
यसलाई अड्को र आशा दुवै रूपमा टिप्पणी गर्न सकिने सरोकारवालाको दाबी छ । नेपाली पक्षले यस पटक भारतको बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात गर्न भारतलाई सहमति गराउने प्रयास गरेको थियो । प्रस्तावको प्रत्युत्तरमा नेपाललाई आयोजनाको नाम प्रस्ताव गर्न भनेको हो ।

नेपालले भारतसँग सुरुवातमा कम्तीमा ५० मेगावाट बिजुली भए पनि बंगलादेशलाई बिक्री गर्न अनुमति माग्दै आएको छ । गत भदौ दोस्रो साता नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट बंगलादेशले पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति भएको थियो । बैठकमा नेपालबाट बंगलादेशसम्म बिजुली पु¥याउन भारतीय प्रसारण लाइन चाहिने र त्यसका लागि बंगलादेश र नेपाल दुवैले भारतलाई अनुमतिका लागि अनुरोध गर्ने सहमति भएको थियो । उक्त बैठकपछि नेपालले भारतसामु बंगलादेशसम्म विद्युत् बिक्री गर्न उसका संयन्त्र र भूमि प्रयोगको अनुमति माग्दै आएको थियो ।

शनिबार सम्पन्न नेपाल–भारत १० औं ऊर्जा सचिवस्तरीय बैठकमा पनि भारतले अनुमतिको सट्टा हाललाई बिजुली लैजाने आयोजनाको नाम माग गरेको हो । भारतले बंगलादेश विद्युत् निर्यात गर्न निश्चित आयोजनासहित प्रस्ताव पठाए स्वीकृत गर्न सकिने आश्वासन दिएको छ ।

Leave A Reply

Your email address will not be published.