Head

डब्ल्यूएचओकाे सिरिया प्रमुखले सुनका सिक्का, कार उपहार दिएर काेषकाे दुरुपयाेग गरेकाे आराेप

68

एजेन्सी ।

सिरियामा रहेकाे संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को कार्यालयका प्रमुखलाई लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ । कार्यालयका कर्मचारीले कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताहरूले दिएको रकम दुरूपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज एपीले हात पारेको हो ।

म्याग्टिमोभाले आफूमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छिन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छिन् ।

उनीविरूद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए । उजुरी परेसँगै डब्ल्यूएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ । त्याे संस्थाले उनीविरूद्धको अरोपको छानबिन भइरहेको र त्यस निम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ ।

Leave a comment