प्रतिनिधि र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला वैकल्पिक गठबन्धनहरुको प्रयास

100

प्रतिनिधि र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला वैकल्पिक गठबन्धनहरुको प्रयास पनि जारी छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा )ले पाँच दलीय गठबन्धनमा स्थान पाउन नसक्दा एमालेसित तालमेल गर्ने प्रयासलाई जीवित राखेको छ । लोसपाका नेताहरुले कांग्रेससितको आश अझै छाडेका छैनन् ।तर उनीहरुको आशा अब एमालेबाट नै छ । पाँच दलीय गठबन्धनमै रहने प्रयास नछाडिएको उल्लेखगर्दै लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले तर एमालेसित गठबन्धन सम्बन्धमा छलफल भइरहेको बताए । ‘असोज ९ गतेबाट गठबन्धनबारेको छलफल सघन रुपमा अगाडि बढनेछ’ नेता महतोले भने, गठबन्धनका लागि सबै विकल्प खुल्ला रहे पनि जनता समाजवादी पार्टी( जसपा)सित संवाद सुरु भएको छैन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसित पछिल्लो पटक भएको भेंटमा औपचारिकता निर्वाहगर्दै हामी दुबै जनाले मधेश संकटमा रहेकोमा एउटै स्वर भएको उनले बताए । ‘मधेश संकटमा रहेको छ ’अध्यक्ष यादवको भनाई उद्घृतगर्दै महतोले भने, मैलेपनि मधेश संकटमा रहेको नै सुनाए । ‘मधेश संकटमा रहेकोमा हामी दुबैबीच मतभिन्नता छैन्’ उनले भने, तर त्यसको निकासका लागि चुनावमा सहकार्य गर्ने लगायतको विषयमा संवाद भएको छैन् । जसपा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा रहेको छ ।तर त्यहाँ अपेक्षाकृत सिट जसपाले पाउने संभावना बलियो छैन् ।

मधेश प्रदेशमा मुख्यरुपमा पाँच दलको गठबन्धनमा सिटको सहमति हुन सकेको छैन् ।प्रतिनिधि सभामा जसपालाई चाहिएजति स्थान नदिए गठबन्धनबाट बाहिरिन सक्ने संकेत अध्यक्ष उपेन्द्र यादवले दिदै आएका छन् । एमालेले जसपालाई मधेश प्रदेशमा प्रतिनिधि सभातर्फ २० स्थान दिन लचिलो रहेको बताइन्छ ।अध्यक्ष यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादको क्रम टुटेको छैन् ।तर पाँच दलीय गठबन्धनबाट निस्कन जसपाका लागि सहज पनि छैन् । एमालेले मधेश प्रदेशमा लोसपासित पनि तालमेल गर्न चाहेको छ ।दुबै दलबीच गठबन्धनको विषयमा निरन्तर संवाद भइरहेको छ ।यद्यपि लोसपाले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासित पनि संवादलाई जारी राखेको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।तर गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा सहमति भइनसकेको कारण उम्मेदवार सुनिश्चित हुन २१ गते सम्म नै लाग्न सक्ने नेताहरु बताउँछन् । स्रोतहरुका अनुसार लोसपा विभाजन हुने संभावना पनि देखिएको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी र अनिलकुमार झाको प्रतिनिधि सभामा व्यवस्थापन गर्न चुनौती देखिएको छ ।  रौतहट जिल्लाबाट निर्वाचित भएका झाको क्षेत्रबाटै पाँच दलीय गठबन्धनमा रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार हुने भएका छन् ।नेपालको उम्मेदवारीले झालाई एमालेको समर्थन अनिवार्य भएको छ ।त्यसो हुन नसके उनको जित निश्चित छैन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका वरिष्ठ नेता राजेन्द्र महतोको चुनाव क्षेत्रको अझै टुंगो लागिसकेको छैन् ।महतोले धनुषा अथवा सर्लाही मध्ये कुन जिल्लाबाट लड्ने त्यो टुंगो लागिसकेको छैन् । अध्यक्ष ठाकुरलाई कांग्रेसले नसघाए चुनाव जित्न समस्या हुन सक्छ ।उनी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट यस अघि निर्वाचित भएका थिए ।जसपासितको गठबन्धन र कांग्रेसको पूर्ण समर्थनबाट ठाकुरले फराकिलो मतान्तरले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।तर अहिलेको स्थिति फरक रहेको छ ।गठबन्धन बिनाको उनको जित पनि अनिश्चित नै छ । वरिष्ठ नेता शरतसिंह भण्डारीको अवस्था भने बलियो छ ।गठबन्धन नभए पनि उनी चुनावमा पराजित नै हुने भन्न सकिदैन् ।भण्डारी चुनावको गणित मिलाउन माहिर रहेको मानिन्छ ।पाँच दलीय गठबन्धनका उम्मेदवारसित भिडेरपनि उनी जित निकाल्न सक्ने धेरैको अनुमान छ ।तर त्यहाँ कांग्रेस नेतृ किरण यादवको तयारी पनि कमजोर छैन् । जनकपुरटुडे

Leave a comment