गौर भन्सारबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एक जना पक्राउ

रौतहटको गौरमा प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरामद रकमको अवैध स्रोतका कारण हुण्डी कारोबारको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा गौर नगरपालिका–१ निवासी ४२ वर्षीय शेराज अलि रहेका छन्।
बुधबार राति करिब साढे ८ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस राइडर मोटरसाइकल चेकजाँच गर्ने क्रममा अलि पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको बोर्डर एक्सन टिम (BAT) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शंकास्पद अवस्थामा मोटरसाइकल रोकेर तलासी लिँदा उनको साथबाट नेपाली १ लाख १६ हजार ५ सय र भारतीय १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपाली ५ सय दरका २३३ थान र भारतीय ५ सय दरका २०० थान नोट बरामद गरिएको हो।
नगदसहित प्रहरीले उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि अलिमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिनुभयो।
सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ।



