बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

रौतहट ९ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय जयनारायण चौधरी छन्। विशेष सूचनाका आधारमा बिहीवार दिउँसो करिब ४ः४० बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घरआँगनमा खानतलासी गर्दा १५ वटा पुरीयामा राखिएको ३२० ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ४१० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको थियो। प्लास्टिकसहित बरामद पदार्थको कुल तौल १ किलो ७३० ग्राम रहेको प्रहरीले जनाएको छ।
वरिष्ठ सई उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा ल्याएको हो।
चौधरीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



