समाचार

सी जिनपिङको अमेरिका भ्रमणले दुई देशकाे सम्बन्धमा रणनीतिक स्थिरता र सहकार्य सुदृढ हुने

बेइजिङ, ७ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको राजकीय भ्रमण सुरु गर्न लागेका बेला दुवै देशले आशा व्यक्त गरेका छन् । राष्ट्रप्रमुखस्तरीय कूटनीतिबाट निर्देशित विश्वका यी दुई ठूला अर्थतन्त्रहरूले सहयोगका थप क्षेत्रहरू पहिचान गर्न र विश्वव्यापी शासन प्रणालीमा सुधार ल्याउने सम्भावनालाई बलियो बनाउन सक्ने उनीहरूकाे अपेक्षा छ।  

याे भ्रमण र मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चीनको राजकीय भ्रमणलाई जोड्दा, यी दुई देशले छ महिनाको अन्तरालमा राजकीय भ्रमणको आदान-प्रदान गरी एक महत्त्वपूर्ण कोसेढुंगा पार गर्नेछन्। मे महिनामा भएको भेटवार्तामा सी र ट्रम्प रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन-अमेरिका सम्बन्ध निर्माण गर्ने नयाँ दृष्टिकोणमा सहमत भएका थिए।  

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार बताएअनुसार, चीन रणनीतिक स्थिरतामा आधारित चीन-अमेरिका रचनात्मक सम्बन्धको "विषयवस्तुलाई अझ समृद्ध बनाउन" अमेरिकासँग मिलेर काम गर्न इच्छुक छ। बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने चीन "अमेरिकासँग संवाद र सहयोग सुदृढ गर्न, मतभेदहरूको उचित व्यवस्थापन गर्न, दुवै देशका जनताको हितमा निरन्तर अभिवृद्धि गर्न तथा विश्व शान्ति, स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्न" इच्छुक छ।  

हालको चीन-अमेरिका सम्बन्धलाई "निकै हदसम्म नेतृत्वद्वारा निर्देशित सम्बन्ध" भन्दै, अमेरिकास्थित थिंक ट्यांक 'द कार्टर सेन्टर' अन्तर्गतको 'चाइना फोकस' की विशेष सल्लाहकार एलिजाबेथ नुपले भनिन्, "दुवै देशले प्रतिस्पर्धात्मक पक्षहरूलाई कम गर्दै गैर-प्रतिस्पर्धात्मक पक्षहरूलाई विस्तार गर्न आवश्यक छ, र आशा छ कि यस्तै भइरहेको छ।"  

"विश्वव्यापीस्तरमा अमेरिका र चीनबीचको सहकार्यको सबैभन्दा सकारात्मक उदाहरणमध्ये एक विगतको इबोला महामारीको समय थियो, जतिबेला अफ्रिकामा उक्त महामारीको सामना गर्न दुवै देशले आ-आफ्ना क्षमताहरूलाई एकीकृत गरेका थिए," दुवै देश मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले भनिन्। उनका अनुसार अमेरिका र चीनबीचको द्विपक्षीय सम्बन्धमा 'फेन्टानिल' को मुद्दामा केही प्रगति भएको छ र "त्यो प्रक्रिया अघि बढिरहेको छ।"

उनले थपिन्, "मलाई आशा छ कि हामीले अन्य क्षेत्रहरू, जस्तै शैक्षिक आदानप्रदान, पनि पहिचान गर्न सक्नेछौं, जहाँ हामी ठोस छलफल सुरु गर्न र समस्या समाधानका ठोस उपायहरू पहिल्याउन सक्छौं।"

चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजकी सह-अनुसन्धानकर्ता सु सियाओहुईले यस साता भएको सीको भ्रमणले चीन-अमेरिका सम्बन्ध "सामान्यतया दुवै राष्ट्र प्रमुखहरूले तय गरेको रचनात्मक रणनीतिक स्थायित्वको बाटोमा अघि बढिरहेको" देखाएको बताइन्।  

"चीन-अमेरिका सम्बन्धमा राष्ट्र प्रमुखस्तरीय कूटनीतिले पुनः एकपटक रणनीतिक तथा नेतृत्वदायी भूमिका खेल्नेछ। राष्ट्रपति सीको अमेरिका भ्रमण दुई राष्ट्रप्रमुखहरूका लागि पुनः रणनीतिक संवादमा संलग्न हुने महत्त्वपूर्ण अवसर बन्नेछ," उनले भनिन्। अन्तर्राष्ट्रिय समुदायले चीन र अमेरिकाका राष्ट्रप्रमुखहरूबीचको कूटनीतिलाई नजिकबाट नियालिरहेको र उनीहरू चीन-अमेरिका सहकार्यका थप आशाजनक सम्भावनाहरू देख्न चाहन्छन्, जसले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा अझ बढी निश्चितता प्रदान गर्न सकोस् भन्ने सुको भनाइ थियो।  

यसै वर्षको सुरुमा, दुवै देशका कानुन कार्यान्वयन गर्ने निकायहरूले लागुऔषधसम्बन्धी विभिन्न मुद्दाहरू, जस्तै कृत्रिम क्यानाबिनोइड्स उत्पादनमा प्रयोग हुने कच्चा पदार्थसँग सम्बन्धित अन्तरदेशीय मुद्दा, सुल्झाउन सहकार्य गरेका थिए।  

आइतबार, चीन र अमेरिकाले न्युयोर्कमा आर्थिक तथा व्यापारिक वार्ताको नयाँ चरण सम्पन्न गरे। आर्थिक तथा व्यापारिक मुद्दाहरू र अघिल्ला चरणका वार्ताहरूमा भएका सहमतिहरूको कार्यान्वयनका अतिरिक्त, दुवै पक्षले कृत्रिम बुद्धिमत्ताबारे पनि छलफल गरे।  

स्टडीजकी अध्येता सुले भनिन् कि मे महिनामा ट्रम्पको चीन भ्रमणयता द्विपक्षीय सहकार्य "धेरै क्षेत्रमा अझ स्थिर र सुदृढ भएको छ।" उनले थपिन्, "आर्थिक तथा व्यापारिक सम्बन्धहरू अवरोध वा द्वन्द्वको स्रोत बन्नुको सट्टा चीन-अमेरिका सम्बन्धको आधारस्तम्भ र चालक शक्तिका रूपमा रहिरहनेछन् भन्ने बलियो आशा छ।"  

पर्यवेक्षकहरूका अनुसार दुई नेताहरूले मुख्य साझा चासोका विषयहरूमा एजेन्डाहरू अघि बढाएर विश्वव्यापी एकतालाई बलियो बनाउन सक्छन्।  

जोन्स हप्किन्स विश्वविद्यालयको 'स्कुल अफ एडभान्स्ड इन्टरनेसनल स्टडीज' अन्तर्गतको 'फरेन पोलिसी इन्स्टिच्युट' की निर्देशक तथा अन्तर्राष्ट्रिय मामिलाकी वरिष्ठ प्राध्यापक कार्ला फ्रिम्यानले दुई नेताहरूबीच भेटघाटको अवसर हुनु निकै सकारात्मक पक्ष भएको बताइन्। यसले "अझ दिगो र स्थिर सम्बन्ध" को बाटो खोल्न सक्ने र उक्त स्थिरता प्राप्त गर्न मद्दत पुर्‍याउने खालका "थप संस्थागत व्यवस्थाहरू निर्माण गर्न दुई नेताहरूको भेटघाटको यस अवसरलाई सदुपयोग गर्न सकिने" उनले बताएकी छन्।  

(चाइना डेलीवाट भावानुवाद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button