अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

काठमाडाैं, ७ असोज । क्यालिफोर्नियामा बढ्दो सरोगेसी (भाडाको कोख) व्यवसायले आफ्ना सन्तान अमेरिकामा जन्मिएर अमेरिकी नागरिकता पाओस् भन्ने चाहने धनी चिनियाँ दम्पतीहरूलाई लोभ्याइरहेको छ।
'न्युयोर्क पोस्ट' का अनुसार 'प्याट्रियट कन्सेप्सन्स' नामक कम्पनीले अमेरिका र चीनबीच यो सेवा सञ्चालन गर्दै आएको छ, जुन चिनियाँ अभिभावकहरूसँगको कामका कारण निकै चर्चामा आएको छ।
अमेरिकी सेनाका पूर्वसैनिक हाओटियन बाई ले स्थापना गरेको यस कम्पनीले अन्तर्राष्ट्रिय ग्राहकका लागि सरोगेसी सेवाको विज्ञापन गर्दै आएको छ। चिनियाँ र अंग्रेजी दुवै भाषामा प्रचार-प्रसार सामग्री उपलब्ध गराएको कम्पनीले इच्छुक ग्राहकलाई चिनियाँ मेसेजिङ एप 'वीच्याट' मार्फत सम्पर्क गर्न प्रोत्साहन गर्छ।
कम्पनीको मूल्य विवरण अनुसार, सन्तान चाहने अभिभावकले सरोगेसी व्यवस्थाका लागि १ लाख २० हजार अमेरिकन डलर देखि २ लाख डलर सम्म खर्च गर्नुपर्छ। यस्तै, सरोगेट आमा बन्ने महिलाहरूले सम्झौताको प्रकृति अनुसार ६० हजारदेखि १ लाख २० हजार डलरसम्म भुक्तानी पाउने गर्छन्।
यस प्रक्रियामा सामान्यतया अभिभावकले तयार पारेको भ्रूण अमेरिकी सरोगेट आमाको गर्भाशयमा प्रत्यारोपण गरिन्छ। कतिपय चिनियाँ दम्पती प्रजनन उपचारका लागि अमेरिका नै जाने गर्छन् भने कतिपयले चीनमै तयार पारिएको भ्रूण अमेरिका पुर्याउने गर्छन्। अमेरिकी नागरिकताका फाइदाहरूका कारण अमेरिकामा बच्चा जन्माउनु धनी चिनियाँ परिवारका लागि वाञ्छनीय मानिन्छ, जसपछि ती बच्चाहरूलाई चीनमै लगेर हुर्काउन सकिन्छ।
जुडी नामकी एक सरोगेट महिलाले आफूले चिनियाँ अर्बपति सु बो को बच्चा गर्भमा बोकेको थाहा पाएपछि यो विषयले व्यापक चर्चा पाएको छ। उनले 'प्याट्रियट कन्सेप्सन्स' को इन्स्टाग्राम विज्ञापनमार्फत प्रक्रिया सुरु गरेकी थिइन् र 'सीबीएस न्युज' ले जानकारी नदिँदासम्म आफूलाई जैविक बुबाको पहिचानबारे थाहा नभएको बताइन्।
यस घटनाले सरोगेटहरूलाई 'इन्टेन्डेड प्यारेन्ट्स' (बच्चा चाहने अभिभावक) को पहिचान वा पृष्ठभूमिको जानकारी कति दिइन्छ भन्ने विषयमा प्रश्न खडा गरेको छ। प्याट्रियट कन्सेप्सन्सले भने सु बोको तर्फबाट सरोगेसीको व्यवस्था मिलाएको र सरोगेटका चिन्ताहरूलाई गम्भीरतापूर्वक लिइने बताएको छ।
प्याट्रियट कन्सेप्सन्सका संस्थापक बाईले आफ्नो कम्पनीले हजारौं अभिभावकलाई मद्दत गरेको र करिब ४० प्रतिशत ग्राहक अमेरिका बाहिरका रहेको दाबी गरेका छन्। यद्यपि, कम्पनीका प्रचार सामग्री भने चिनियाँ ग्राहकमा बढी केन्द्रित देखिन्छन्।
'द पोस्ट' सँग कुरा गर्दै बाईले भने, "हामी ग्राहकको जनसांख्यिकीय विवरण सार्वजनिक गर्दैनौं। प्रक्रियाको सुरुवातमा राष्ट्रियता संकलन गर्छौं र जोडी मिलाउने ('म्याचिङ') चरणमा सरोगेटलाई जानकारी दिन्छौं। अभिभावकको विदेशी राष्ट्रियता हुनुको अर्थ नागरिकता पाउनु नै मुख्य उद्देश्य हो भन्ने पुष्टि हुँदैन।"
अन्तर्राष्ट्रिय ग्राहकहरूसँग जोडिएको बाईको यो पहिलो व्यावसायिक प्रयास भने होइन। यसअघि उनले क्यालिफोर्नियामै 'प्यासिफिक सरोगेसी' नामक अर्को कम्पनी चलाएका थिए। सन् २०१२ मा आयोवा स्टेट युनिभर्सिटीमा वातावरणीय इन्जिनियरिङ पढ्न चीनबाट अमेरिका आएका बाई पछि अमेरिकी सेनामा भर्ना भएर नागरिकता लिएका थिए।
प्रजनन व्यवसायमा आउनु अघि उनले हवाईमा चिनियाँ विद्यार्थीहरूलाई अमेरिकी विधायी कार्यालयहरूमा काम गराउने विवादास्पद इन्टर्नसिप कार्यक्रम पनि चलाएका थिए।



