समाचार

फिफा अध्यक्ष ‘सुधारकाे पत्र’ पुनः निर्वाचनको चालबाजी होः जर्मन फुटबल संघ

काठमाडौं, ७ असोज। आफ्नो नेतृत्वको तीव्र आलोचना भइरहेका बेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले संस्थाको निर्णय प्रक्रियाको स्वतन्त्र समीक्षाको प्रस्ताव अघि सारेका छन्।

 

तर, जर्मन फुटबल संघ ले भने यसलाई आगामी निर्वाचनमा पुनः निर्वाचित हुने इन्फान्टिनोको चालबाजी मात्र भएको टिप्पणी गरेको छ।

 

विश्वकपको केही हिस्सा बिक्री गर्ने आफ्नो असफल योजनालाई लिएर उत्पन्न सङ्कटका बीच फिफा अध्यक्ष इन्फान्टिनोले यसै साता सबै २११ सदस्य राष्ट्रहरूलाई पत्र लेख्दै विश्व फुटबलको सर्वोच्च निकायभित्र सुधारबारे छलफल गर्ने प्रस्ताव राखेका हुन्। समाचार अनुसार विवादास्पद निजी लगानी योजना फिर्ता लिएपछि गुमेको समर्थन पुनः हासिल गर्ने उद्देश्यले उनले मेलमिलापपूर्ण शैली अपनाउँदै महासङ्घहरू र सरोकारवालाहरूसँग परामर्शको प्रस्ताव गरेका छन्।

 

विश्वकपसहित फिफाको व्यावसायिक अधिकारको २० प्रतिशत हिस्सा निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने प्रस्तावका कारण इन्फान्टिनोले कडा विरोधको सामना गर्नुपरेको थियो। युरोपेली फुटबल महासङ्घ, एसियाली फुटबल महासङ्घ र कोन्काकाफले कडा विरोध र बहिष्कारको चेतावनी दिएपछि गत जुलाईमा उक्त योजना परित्याग गरिएको थियो। महादेशीय महासङ्घहरूसँग कुनै परामर्श नगरी एक्लै निर्णय लिएको भन्दै युरोपेली निकायले अब नेतृत्व परिवर्तन आवश्यक रहेको जनाइसकेको छ।

 

जर्मन फुटबल संघका अध्यक्ष तथा फिफा काउन्सिल सदस्य बर्न्ड न्युएनडोर्फले मंगलबार प्रतिक्रिया दिँदै भने, "म जियानी इन्फान्टिनोको पत्रलाई अर्को वर्ष हुने निर्वाचनमा आफ्नो पुनः चयन सुनिश्चित गर्ने एउटा पारदर्शी चालका रूपमा लिन्छु। फिफाले परिवर्तन अपरिहार्य छ भन्ने महसुस गरेको देखिए पनि सुधार प्रक्रियाको नेतृत्व गर्न इन्फान्टिनो पक्कै उपयुक्त व्यक्ति होइनन्, उनले आफ्नो सम्पूर्ण विश्वसनीयता गुमाइसकेका छन्।"

 

यसैबीच इन्फान्टिनोले पत्रमार्फत सदस्य संघहरूको राजनीतिक अडानले फिफाबाट पाउने सहयोग वा विकास कार्यक्रमहरूमा कुनै असर नपर्ने आश्वासन दिएका छन्। आगामी वर्षको मार्चमा हुने निर्वाचनमा इन्फान्टिनो पुनः अध्यक्षको उम्मेदवार बन्दैछन्। विपक्षीहरूले बलियो उम्मेदवार चयन गर्न सङ्घर्ष गरिरहेका बेला, इन्फान्टिनोसँग अझै पर्याप्त मत रहेकाले विरोधीहरू हाल उनको अधिकार कटौती गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button