समाचार

आयुर्वेददेखि वातावरण संरक्षणसम्म : भारतमा सम्मानित भए डा. तिम्सिना

काठमाडौँ। नेपालका आयुर्वेद चिकित्सक तथा औषधीय जडीबुटीका अध्येता डा. बिजुलीप्रसाद तिम्सिना (बीपी) भारतमा पुरस्कृत भएका छन्। आयुर्वेद, औषधीय वनस्पति, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनलाई भारतको कर्नाटकस्थित बेंगलुरुमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो।

तिम्सिनाले १६ सेप्टेम्बर २०२६ मा बेंगलुरुको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटी (भीटीयू) नागाभाभीमा आयोजित कार्यक्रममा ‘एपीसीईसीसी सर एम. विश्वेश्वरैया वर्ल्ड ओजोन इन्टरनेशनल एन्वी फेस्ट अवार्ड-२०२६’ प्राप्त गरेका हुन्।

कार्यक्रम नेसनल पोलुसन कन्ट्रोल एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन कमिटीको आयोजना तथा विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीको सहकार्यमा भएको थियो। आयोजकका अनुसार परम्परागत आयुर्वेदिक चिकित्सा, औषधीय वनस्पति र प्रकृति संरक्षणलाई जोड्दै तिम्सिनाले पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।

आयुर्वेददेखि वातावरण संरक्षणसम्म

डा. तिम्सिना आयुर्वेद, उपचार योजना तथा हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सक हुन्। उनले विभिन्न आयुर्वेदिक अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्दै बिरामीको हेरचाह, रोग पहिचान, उपचार योजना तथा परम्परागत जडीबुटीजन्य उपचारको क्षेत्रमा काम गर्दै आएका छन्।

क्लिनिकल अभ्याससँगै उनको अर्को महत्वपूर्ण कार्यक्षेत्र नेपालका औषधीय वनस्पति तथा जडीबुटीको अध्ययन र अनुसन्धान हो। तिम्सिनाले औषधीय वनस्पतिको संरक्षणलाई स्वास्थ्य वा व्यापारसँग मात्र जोडेर हेर्न नहुने बताउँदै आएका छन्। उनका अनुसार औषधीय वनस्पतिको संरक्षण प्रत्यक्ष रूपमा जैविक विविधता, वातावरण र जनस्वास्थ्यसँग जोडिएको विषय हो।

बेंगलुरुमा आयोजित कार्यक्रममा पनि उनले औषधीय जडीबुटी, मानव स्वास्थ्य र प्रकृतिबीचको सम्बन्धबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। प्राकृतिक बासस्थानको विनाशका कारण महत्वपूर्ण औषधीय वनस्पति लोप हुन सक्ने भन्दै उनले संरक्षण, वैज्ञानिक अभिलेखीकरण, दिगो संकलन तथा जिम्मेवार उपयोगमा जोड दिएका थिए।

६ हजार ५ सयभन्दा बढी औषधीय वनस्पतिको ज्ञान

तिम्सिनासँग नेपालमा पाइने ६ हजार ५ सयभन्दा बढी प्रकारका औषधीय जडीबुटी तथा वनस्पतिबारे ज्ञान रहेको उल्लेख छ। भौगोलिक विविधताका कारण नेपालका तराईदेखि हिमाली क्षेत्रसम्म विभिन्न प्रकारका औषधीय वनस्पति पाइन्छन्।

आयुर्वेदिक उपचारमा प्रयोग हुने यस्ता वनस्पति वन, पहाड, उच्च हिमाली क्षेत्र तथा सिमसार क्षेत्रमा पाइने गर्छन्। प्राकृतिक बासस्थानको संरक्षण हुन नसके यस्ता वनस्पतिको अस्तित्वसमेत संकटमा पर्न सक्ने भएकाले औषधीय वनस्पति संरक्षणलाई जैविक विविधता संरक्षणसँग जोडेर अघि बढाउनुपर्ने तिम्सिनाको धारणा छ।

उनका अनुसार औषधीय वनस्पतिको संरक्षणले एकातिर पारिस्थितिक प्रणाली जोगाउन मद्दत गर्छ भने अर्कोतर्फ परम्परागत उपचार पद्धतिका लागि आवश्यक प्राकृतिक स्रोतको निरन्तरता सुनिश्चित गर्छ। यसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञानलाई सुरक्षित राख्नसमेत सहयोग पुर्‍याउँछ।

आयुर्वेद र प्रकृतिबीचको सम्बन्ध

तिम्सिनाको दृष्टिकोणमा मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्य अलग विषय होइनन्। आयुर्वेदले मानिस र प्रकृतिबीचको सन्तुलनलाई महत्व दिँदै आएको र औषधीय वनस्पति त्यसको महत्वपूर्ण आधार भएकाले आयुर्वेदको प्रवर्द्धनसँगै वन, पानीका स्रोत, जैविक विविधता र प्राकृतिक बासस्थानको संरक्षण पनि आवश्यक छ।

वातावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक बासस्थानको क्षय र जैविक विविधताको ह्रास विश्वव्यापी चुनौती बनिरहेका बेला परम्परागत पारिस्थितिक ज्ञान र आधुनिक वातावरण संरक्षणबीचको सम्बन्ध थप महत्वपूर्ण बन्दै गएको छ। यही सन्दर्भमा आयुर्वेद तथा औषधीय वनस्पतिको संरक्षणलाई वातावरणीय चेतनासँग जोड्ने तिम्सिनाको कामलाई आयोजकले सम्मान गरेको जनाएको छ।

कार्यक्रममा भारत, नेपाल, भुटान, श्रीलंका तथा नेदरल्यान्ड्सलगायत विभिन्न देशका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका वरिष्ठ प्रतिनिधि, उपकुलपति तथा उच्च अधिकारीसमेत कार्यक्रममा सहभागी थिए।

भारत तथा कर्नाटक सरकारसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रम वातावरण, शिक्षा, आयुर्वेद, परम्परागत चिकित्सा तथा दिगो विकाससम्बन्धी विषयमा छलफल गर्ने मञ्चका रूपमा आयोजना गरिएको थियो।

औपचारिक समारोहमा तिम्सिनाले पुरस्कारको ट्रफी ग्रहण गरेका थिए। ट्रफीमा भारतका प्रसिद्ध इन्जिनियर तथा राजनेता सर एम. विश्वेश्वरैयाको नाम अंकित छ।

डा. तिम्सिनाले भारतको मुजफ्फरपुरस्थित बाबासाहेब अम्बेडकर बिहार विश्वविद्यालयबाट बीएएमएस अध्ययन गरेका छन्। यसअघि उनले नेपालको महेन्द्र क्याम्पस, सप्तरीमहेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा समेत अध्ययन गरेका थिए। उनको व्यावसायिक यात्रामा काठमाडौंस्थित पाथीभरा आयुर्वेदिक अस्पताल, झापाको सप्तगण्डकी आयुर्वेदिक अस्पताल, बुटवलको सिमिनाचि पाथीभरा तथा झापाको माता पाथीभरालगायत संस्थासँग सम्बन्धित नेतृत्व तथा चिकित्सकीय अनुभव छ।

स्वास्थ्यसम्बन्धी व्यावसायिक कार्यक्रम, तालिम तथा अन्तर्राष्ट्रिय गतिविधिका क्रममा उनले जर्मनी, स्विट्जरल्यान्ड, डेनमार्क, टर्की, नर्वे, स्पेन, फ्रान्स, जोर्डन, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, थाइल्यान्ड, जर्जिया, कतार, इन्डोनेसिया, ओमान, इस्ट टिमोर, पलाउ, श्रीलंका र भारतलगायतका देश भ्रमण गरेको उनको व्यावसायिक विवरणमा उल्लेख छ।

 ‘सर एम. विश्वेश्वरैया वर्ल्ड ओजोन इन्टरनेशनल एन्वी फेस्ट अवार्ड-२०२६’ तिम्सिनाको आयुर्वेदिक चिकित्सा अभ्याससँगै औषधीय वनस्पति, परम्परागत ज्ञान र वातावरण संरक्षणलाई जोडेर अघि बढाएको कार्यसँग सम्बन्धित सम्मानका रूपमा प्रस्तुत गरिएको छ।

नेपाल जैविक विविधता र औषधीय वनस्पतिका दृष्टिले समृद्ध मुलुक हो। तर प्राकृतिक बासस्थानको क्षय, अव्यवस्थित संकलन र संरक्षणको अभावले औषधीय वनस्पतिका धेरै प्रजाति जोखिममा पर्न सक्ने चुनौती छ। यस्तो अवस्थामा औषधीय वनस्पतिको वैज्ञानिक अभिलेखीकरण, संरक्षण र दिगो उपयोगसँग सम्बन्धित ज्ञानलाई संस्थागत गर्नु महत्वपूर्ण रहेको तिम्सिनाले बताएका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button