
राजकुमार यादव
रौतहट, ०५ असोज
नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत रौतहटको गढीमाई नगरपालिका -८, बिननगरामा सम्पन्न अधिवेशनले स्थानीय राजनीतिक वृत्तमा विशेष चासो बढाएको छ। मधेश प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको गृह टोल तथा गढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख श्यामप्रसाद यादव नेपाली कांग्रेसबाट निर्वाचित भएको वडा समेत भएकाले बिननगरामा सम्पन्न अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको हो।
गढीमाई नगरपालिका वडा नं. १ देखि ९ सम्म नेपाली कांग्रेसको वडा अधिवेशन चलिरहँदा मुख्यमन्त्री र नगर प्रमुखसँग प्रत्यक्ष राजनीतिक सम्बन्ध रहेको बिननागरा सबैको ध्यानको केन्द्रमा परेको थियो। वडा नेतृत्व चयनसँगै स्थानीय तहमा पार्टी संगठनको अवस्था, कार्यकर्ताबीचको समन्वय र आगामी राजनीतिक गतिविधिका दृष्टिले पनि अधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। वडा नं. ८ मा सम्पन्न अधिवेशनबाट मोहम्मद इस्लाम वडा सभापतिमा सर्वसम्मत चयन भएका छन्।

उनको सर्वसम्मत चयनसँगै वडा तहमा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित वडा सभापति इस्लामलाई नेपाली कांग्रेस मधेश प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव तथा गढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख श्यामप्रसाद यादवले फूलमाला तथा गम्छा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
मुख्यमन्त्री यादवको गृह टोल र नगर प्रमुख यादवको निर्वाचित वडामा भएको कांग्रेस अधिवेशन भएकाले बिननगराको नेतृत्व चयनलाई स्थानीय संगठनको नियमित प्रक्रियाभन्दा बाहिर पनि राजनीतिक रूपमा चासोका साथ हेरिएको छ। आगामी दिनमा नवनिर्वाचित वडा नेतृत्वले संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषयले पनि स्थानीय कांग्रेसभित्रको राजनीतिक गतिविधिलाई प्रभावित गर्ने देखिन्छ।



