मधेस प्रदेशसमाचारस्थानीय
सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै व्यापारी धम्क्याउने सहायक हवल्दार भण्डारीमाथि रकम असुलीको गम्भीर आरोप

रौतहट–रौतहटको सदरमुकाम गौर लगायत जिल्लाका विभिन्न नाका तथा बजार क्षेत्रमा सञ्चालित व्यापारीहरूलाई धाकधम्की दिँदै अस्वाभाविक रकम बार्गेनिङ गर्ने र मागेजति रकम नदिए मालसामान जबर्जस्ती पक्राउ गर्ने गरेको गम्भीर आरोप सशस्त्र प्रहरी बलका एक बहालवाला कर्मचारीमाथि लागेको छ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेर्डक्वार्टर (तत्कालीन/सम्बन्धित गण) मातहत कार्यरत सहायक हवल्दार मिथिलेस भण्डारीले आफूलाई सशस्त्र प्रहरीको विशेष घुमुवा (सूचना संकलक) दाबी गर्दै स्थानीय व्यापारीहरूलाई मानसिक दबाब र त्रास सिर्जना गरी रकम असुली गरिरहेको पीडित व्यापारीहरूको गुनासो छ।
पिडित एक व्यापारीले नाम नखुलाउने सर्तमा दिएको जानकारी अनुसार वैध कागजात बिलबिजक तथा भन्सार प्रक्रिया पूरा गरी नियमपूर्वक खरिद-बिक्री एवं ढुवानी भइरहेका मालसामानलाई समेत सहायक हवल्दार भण्डारीले नियन्त्रणमा लिने र ठूलो रकमको माग गर्ने गरेका छन्। व्यापारीले मागे बमोजिमको रकम दिन अस्वीकार गरेपछि भण्डारीले प्रतिशोधपूर्ण ढङ्गले सामान पक्राउ गरी गण हेडक्वार्टरमा बुझाउने गरेको पाइएको छ।
हामीले वैधानिक रूपमा नियमानुसार ल्याएका सामानमा पनि घुमुवा भण्डारीले रकमको बार्गेनिङ गर्छन्, पीडित व्यापारीले भने, मागिए अनुसारको रकम नदिएकै कारण हाम्रा सामान जबर्जस्ती जफत गरी हेडक्वार्टरसम्म पुर्याइएको छ। उनीसँग भएको आर्थिक लेनदेन सम्बन्धी कुराकानीका अडियो र भिडियो प्रमाणहरू हामीसँग सुरक्षित छन्। सम्बन्धित उच्च निकाय वा छानबिन समितिले मागेको खण्डमा जुनसुकै बेला प्रमाण बुझाउन तयार छौँ।
यसैबीच सशस्त्र प्रहरीको आन्तरिक नियमावली र कार्यविधि अनुसार एकै स्थान वा संवेदनशील जिम्मेवारीमा कार्यरत प्रहरी कर्मचारीलाई निश्चित अवधि सामान्यतया ६ महिनामा हेरफेर वा स्थानान्तरण गर्नुपर्ने स्पष्ट प्रावधान छ। तर सहायक हवल्दार भण्डारीलाई विगत १० महिनाभन्दा बढी समयदेखि गण हेडक्वार्टरमै राखेर घुमुवाका रूपमा परिचालन गरिनुले स्थानीय निकाय तथा कमान्डरको भूमिकामाथि पनि प्रश्न चिह्न खडा गरेको छ।
अवैध असुलीको मास्टरमाइन्डका रूपमा प्रस्तुत भएका भण्डारीलाई लामो समयसम्म एउटै जिम्मेवारीमा राखिनुमा माथिल्लो तहको संरक्षण हुन सक्ने आशंका व्यापारीहरूले गरेका छन् ।
दिनप्रतिदिन बढ्दै गएको यस प्रकारको गैरकानुनी गतिविधि र आतंकले सीमावर्ती क्षेत्रका व्यावसायिक वातावरणमा नकारात्मक असर परेको भन्दै स्थानीय व्यापारीहरूले सम्बन्धित उच्च सुरक्षा निकाय, गृह मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान आकर्षण गराएका छन्। उनीहरूले यस प्रकरणको तत्काल निष्पक्ष र सूक्ष्म छानबिन गरी दोषीमाथि कडा विभागीय तथा कानुन बमोजिमको कारबाही गर्न र सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन्। साभार: शुभ आरम्भ राष्ट्रिय दैनिक



