मधेस प्रदेशसमाचारस्थानीय
प्रहरीको नाममा एक लाख असुलीको आरोप, वडाध्यक्षका प्रत्याशी पक्राउ

रौतहट– रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरमा थुनुवालाई छुटाइदिने भन्दै प्रहरीको नाममा रकम असुली गरेको आरोपमा वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैन पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गरुडाले हुस्नैनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका रामजन मियाँलाई छुटाइदिने आश्वासन दिँदै हुस्नैनले उनकी श्रीमतीबाट एक लाख रुपैयाँ लिएको आरोप छ।
रामजन मियाँमाथि मुद्दा दर्ता हुन नदिने र प्रहरीसँग कुरा गरेर उनलाई छुटाइदिने भन्दै रकम लिइएको दाबी गर्दै उनकी श्रीमतीले प्रहरीमा जाहेरी दिएपछि हुस्नैन पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले प्रहरीको नाम र पदको दुरुपयोग गरी रकम असुली गरेको आरोपमा हुस्नैनलाई पक्राउ गरिएको बताए। उनका अनुसार जिल्ला अदालत गौरबाट म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
केही दिनअघि गरुडा–९ श्रीपुरमा अकबर मियाँ र उनका छोरा मेराज मियाँबीच विवाद भई कुटपिट भएको थियो। घटनाबारे जानकारी पाएपछि शान्ति सुरक्षाका लागि प्रहरी चौकी बिर्ताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घटनास्थलमा पुगेका प्रहरीलाई अकबर मियाँका भाइ रामजन मियाँले दुर्व्यवहार गर्नुका साथै प्रहरीको बर्दीसमेत च्यातिदिएका थिए। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको थियो।
रामजन पक्राउ परेपछि उनलाई छुटाउन सक्ने भन्दै हुस्नैनले उनकी श्रीमतीसँग रकम लिएको आरोप लागेको हो।
यसै प्रकरणमा गरुडा–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीमाथि समेत थुनुवालाई छुटाइदिने भन्दै रकम लिएको आरोप लागेको प्रहरीले जनाएको छ।
पीडित पक्षबाट सहनीविरुद्ध समेत जाहेरी परेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी आचार्यले बताए। अनुसन्धानबाट दोषी देखिए कानुनअनुसार कारबाही गरिने प्रहरीको भनाइ छ।
तर वडाध्यक्ष सहनीले भने आफूले रामजन मियाँलाई छुटाउन कसैसँग रकम नलिएको दाबी गर्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।
प्रहरीको नाम प्रयोग गरेर थुनुवा छुटाउने, मुद्दा मिलाउने वा कारबाही रोक्ने भन्दै रकम उठाउने गतिविधिले प्रहरी संगठनको विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। डीएसपी आचार्यले प्रहरीको नाम र पद दुरुपयोग गरी रकम असुली गर्ने जोसुकै भए पनि अनुसन्धान गरी कानुनी दायरामा ल्याइने बताए।
हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् भने घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभार: शुभ आरम्भ राष्ट्रिय दैनिक



