काठमाडौँ, २४ भदौ। सन् २०१० मा पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले इन्टर मिलानलाई ऐतिहासिक 'ट्रेबल' उपाधि दिलाएका थिए।
सोही सिजन उनले सेरी ए, कोप्पा इटालिया र सान्टियागो बर्नाबेउमा भएको च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिचलाई २-० ले हराउँदै सन् १९६५ पछि पहिलोपटक इन्टरलाई युरोपेली च्याम्पियन बनाएका थिए। त्योसँगै इन्टर ट्रेबल जित्ने पहिलो इटालियन टोली बनेको थियो।
फाइनलको भोलिपल्टै मोरिन्होले इन्टरमा त्यो आफ्नो अन्तिम खेल हुनसक्ने सङ्केत गरेका थिए र एक हप्तापछि रियल मड्रिडमा उनको नियुक्ति तय भएको थियो।
तर, अहिले १६ वर्षपछि रियल मड्रिडमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै मोरिन्होले मङ्गलवार बर्नाबेउमा सेरी ए च्याम्पियन इन्टर मिलानविरुद्ध १५ पटकको च्याम्पियन्स लिग विजेता टोलीको नयाँ युरोपेली अभियानको सुरुवात गर्दैछन्।
युइएफए च्याम्पियन्स लिगको लिग चरणको पहिलो खेलमा रियल म्याड्रिड र इन्टर मिलान आमनेसामने हुँदै छन्। सान्टियागो बर्नाबेउ रङ्गशाला, म्याड्रिड स्पेनमा हुने याे खेल निकै राेचक हुने देखिएकाे छ। राेचक यसकारण पनि छ कि यसअघि आफैँले तीनवटा उपाधि जिताएको पुरानो क्लब इन्टर मिलानविरुद्ध प्रशिक्षक मोरिन्होले रियल म्याड्रिडबाट खेलाडी उतारिरहेका छन्, जुन एउटा रमाइलो संयोग हो।
रियल मड्रिडमा आफ्नो पहिलो कार्यकालमा मोरिन्होले जित्न नसकेको एकमात्र प्रमुख उपाधि 'च्याम्पियन्स लिग' नै थियो।
खेलअघिको पत्रकार सम्मेलनमा क्लबप्रति कुनै बाँकी दायित्व छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, "होइन, यी दुई फरक-फरक कार्यकाल हुन्। सन् २०१३ मा म त्यहाँबाट बिदा हुँदा हामीले जे-जति जित्यौँ वा गुमायौँ, त्यसमा आफ्नो शतप्रतिशत दिएका थियौँ। अहिले मैले गर्नुपर्ने कामको विगतसँग कुनै सम्बन्ध छैन।"
उनले थपे, "सन् २०१० को कुरा गर्ने हो भने, हामी च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पनि पुग्न सकिरहेका थिएनौँ। तर अहिले, एक दशकभन्दा केही बढी समयको अन्तरालमा क्लबले ६ पटक च्याम्पियन्स लिग जितिसकेको छ।"
अब सबैको ध्यान रियलले मोरिन्होको दोस्रो कार्यकालको पहिलो धक्का, शुक्रबार ला लिगामा रियल बेटिससँग भोगेको १-० को हार, लाई कसरी सम्हाल्छ भन्नेमा केन्द्रित छ।
"हामी हरेक खेल र हरेक प्रतियोगिता जित्न चाहन्छौँ," मोरिन्होले भने, "तर निरन्तरता र स्थिरता कायम गर्नका लागि मिहिनेत आवश्यक छ। रियल मड्रिडले जस्तोसुकै परिस्थितिमा पनि जित्नैपर्ने दबाब हुन्छ, हामी यसमा प्रयासरत छाैं ।"
पत्रकार सम्मेलनमा मोरिन्होसँगै उपस्थित स्टार स्ट्राइकर किलियन एम्बाप्पेलाई भिनिसियस जुनियरसँगको सम्बन्ध र ड्रेसिङ रुमको वातावरणबारे प्रश्न सोधिएको थियो।
गत वर्षको तुलनामा केही परिवर्तन आएको छ कि भन्ने प्रश्नमा उनले भने, "ड्रेसिङ रुममा सुधार भन्नुको अर्थ के हो? के गत वर्ष केही कुरा ठीक थिएन र ? होइन, अवस्था गत वर्षजस्तै सामान्य छ। फरक प्रशिक्षक हुनुहुन्छ तर माहौल उस्तै छ।"
एम्बाप्पेले गोल गर्ने मामिलामा टोलीले सुधार गर्नुपर्ने स्वीकार गरे। "हामी सबैले गोल गर्ने र बल नियन्त्रणमा राखेर खेल्ने शैलीमा सुधार गर्न आवश्यक छ," उनले भने।
शुक्रबार भएको खेलमा ट्रोय पारोटले गोल गर्दै रियल बेटिसलाई १-० को जित दिलाएका थिए। उक्त खेलमा एम्बाप्पेले पेनाल्टी चुकाउँदा ला लिगामा मोरिन्होको उत्कृष्ट सुरुआतमा पूर्णविराम लागेको थियो।
अर्कोतर्फ, इन्टर मिलानले भने शनिबार सेरी ए मा नेपोलीविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ३-२ को रोमान्चक पुनरागमन जित निकालेको छ। दोस्रो हाफमा माटेओ पोलिटानो र रसमस होजलुन्डले गोल गर्दै नेपोलीलाई २-० को अग्रता दिलाएका थिए।
तर, फेडेरिको डिमार्कोको क्रसमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा फर्काए भने मार्कस थुरमले ८२ औँ मिनेटमा उत्कृष्ट हेडरमार्फत बराबरी गोल गरे। ९१ औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको जित पक्का गरेका थिए।

