आठ महिनामा चीनको वैदेशिक व्यापार ५.१८ ट्रिलियन अमेरिकी डलर बराबर

बेइजिङ, २४ भदौ। चीनको वैदेशिक व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ।

 

यस वर्षको पहिलो आठ महिनामा चीनको वैदेशिक व्यापार १७.६ प्रतिशतले बढेर ३४.७८ ट्रिलियन युआन पुगेको छ। मंगलबार सार्वजनिक गरिएको आधिकारिक भन्सार तथ्याङ्कअनुसार यस अवधिमा व्यापारमा निकै सकारात्मक सुधार आएको हो।

 

उक्त अवधिमा कुल वस्तु आयात तथा निर्यात १७.६ प्रतिशतले बढेर ३४.७८ ट्रिलियन युआन अर्थात ५.१८ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यो वृद्धिदर पहिलो सात महिनाको तुलनामा ०.३ प्रतिशत विन्दुले बढी हो।

 

यस अवधिमा निर्यात १४.६ प्रतिशतले बढेर २०.१७ ट्रिलियन युआन पुगेको छ भने आयात २२ प्रतिशतले बढेर १४.६१ ट्रिलियन युआन कायम भएको चिनियाँ भन्सार कार्यालयले जनाएको छ।

 

अघिल्लो अगस्ट महिनामा मात्रै चीनको वस्तु व्यापार १९.८ प्रतिशतले बढी ४.६५ ट्रिलियन युआन पुगेको छ। सो महिनामा निर्यात १८.६ प्रतिशत र आयात २१.७ प्रतिशतले बढेको थियो।

 

योसँगै लगातार चौथो महिनासम्म आयात र निर्यात दुवैमा दोहोरो अङ्कको वृद्धि देखिएको छ भने लगातार छ महिनादेखि आयातको वार्षिक वृद्धिदर निर्यातको भन्दा बढी रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *