समाचार

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

हाल बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतका लागि गृह मन्त्रालय, नेपाली सेना र निजी क्षेत्रको समन्वयमा निरन्तर हेलिकप्टर परिचालन भइरहेको छ। तर, केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएकाले प्राधिकरणले यस्तो चेतावनी दिएको हो।

अत्यावश्यक खोजी तथा उद्धार कार्यका बेला अनधिकृत रूपमा उडाइएका ड्रोनले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउनुका साथै हेलिकप्टरको उडानमा प्रत्यक्ष बाधा पुग्न सक्ने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले ‘मानवरहित हवाई उपकरण (ड्रोन) उडानसम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

स्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेसमेत प्राधिकरणले स्पष्ट पारेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button