समाचार
काठमाडौं महानगरद्वारा बाढीप्रभावितका लागि निःशुल्क यातायात, दुई गाडी नुवाकोट प्रस्थान

काठमाडौं । विनाशकारी बाढीका कारण अलपत्र परेका नागरिकहरूलाई गन्तव्यसम्म पुर्याउन काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ।
महानगरको सहायता कार्यक्रमअन्तर्गत आज बिहान ०६:०० बजे काठमाडौंबाट नुवाकोटतर्फ दुई वटा बस परिचालन गरिएको छ। अलपत्र नागरिकहरूको सहज यात्रा र यात्राको सुरक्षालाई ध्यानमा राख्दै महानगर प्रहरीको विशेष टोलीसहित गाडीहरू पठाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
बाढीपहिरोका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध भई अलपत्र परेका सर्वसाधारणलाई सुरक्षित रूपमा गृहजिल्ला पुर्याउने उद्देश्यले महानगरले यो सेवा सुरु गरेको हो। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रहरूमा पनि निःशुल्क यातायात सेवा र उद्धार टोली विस्तार गर्दै लगिने महानगरपालिकाले जनाएको छ।



