समाचार

आज गाइजात्रा, यमराजको पुजा र बिभिन्न झाँकी प्रदर्शन गरी मनाइदैँ

काठमाडौं, १३ भदौं । गाइजात्रा अर्थात सापारू पर्व नेपालको विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायद्वारा मनाइने एक अत्यन्त प्राचीन, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व हो। यो पर्व भाद्र शुक्ल प्रतिपदाका दिन मनाइन्छ।

 

गाईजात्रा पर्वको सुरुवात ऐतिहासिक रूपमा राजा प्रताप मल्लको पालाबाट भएको मानिन्छ। राजा प्रताप मल्लको पुत्रशोक पछि यो पर्व सुरू भएको मानिदै आइएको छ । मल्लकालमा काठमाडौँका राजा प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको अल्पायुमै निधन भएको थियो। तर रानी पुत्रशोकले असाध्यै व्याकुल भइन् र लामो समयसम्म शोकबाट मुक्त हुन सकिनन्।

 

त्यसपछि रानीलाई ‘संसारमा पुत्र वा आफन्त गुमाउने दुःख भोग्ने तिमी मात्र होइनौ, यो त संसारको रीति हो’ भनी सम्झाउन राजाले एउटा जुक्ति निकाले र बिभिन्न रूप रंगमा झाँकीसहित नगर परिक्रमा गर्न प्रजालाई आदेश दिए । राजाको आज्ञा अनुसार  वर्षभरि शहरमा जस जसको घरमा आफन्तको निधन भएको छ, ती सबै परिवारलाई आफ्नो मृत आत्माको शान्ति र सम्झनामा गाईजात्रा अर्थात गाई वा गाईको रूप धारण गराई नगर परिक्रमा निकाल्न आदेश दिए।

 

यसपछि नगर परिक्रमाको क्रममा मानिसहरूले विभिन्न हास्य व्यङ्ग्य, रमाइला झाँकी र घिन्ताङ घिसी नाच प्रस्तुत गरे। यो देखेर रानीले संसारमा अरू धेरैले पनि शोक भोगिरहेका रहेछन् भन्ने बुझिन् र उनको ओठमा मुस्कान फर्कियो।

धार्मिक महत्त्व

पितृ उद्धार र वैतरणी पारः धार्मिक मान्यताअनुसार यस दिन दिवंगत भएका आफन्तको नाममा गाई वा गाईको रूप धारण गराई नगर परिक्रमा गराउनाले दिवंगत आत्माले वैतरणी नदी सजिलै पार गरी स्वर्गलोकमा बास पाउँछन् भन्ने जन विश्वास रहेको छ।

यमलोकको ढोका खुल्ने विश्वासः भाद्र शुक्ल प्रतिपदाका दिन यमलोकको ढोका खुल्ने र यस दिन गरिने पूजापाठ तथा दानपुण्यले मृत आत्मालाई शान्ति मिल्ने धार्मिक विश्वास रहदै आएको छ ।

यमराजको पूजाः यस दिन यमराजको पूजा गरी मृत्युलाई सहज र स्वाभाविक रूपमा स्वीकार गर्ने धार्मिक चेतना जगाउने काम गरिन्छ ।

 

सांस्कृतिक तथा सामाजिक महत्त्व

शोकलाई शक्ति र हाँसोमा बदल्ने परम्पराको रूपमा यसलाइ हेर्ने गरिन्छ । आफन्त गुमाउनुको पीडालाई बिर्सेर समाजमा हाँसो र खुसी बाँड्नु यस पर्वको मुख्य उद्देश्य हो।

 

यो व्यङ्ग्य र अभिव्यक्ति स्वतन्त्रताको एक रूपमा पनि हो  । गाइजात्रालाई सामाजिक तथा राजनीतिक विसंगति, विकृति र नेता वा शासकहरू माथि व्यङ्ग्य अर्थात हास्य व्यङ्ग्य प्रहार गर्ने स्वतन्त्रताको पर्वका रूपमा लिइन्छ। यस दिन समाजका कमजोरीहरूलाई हास्य–व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिन्छ।

 

खासमा यो पर्व सांस्कृतिक विविधता र एकताको प्रतिक पनि हो  । गाईजात्रामा निकालिने घिन्ताङघिसी नाच, तहासाँ, र विभिन्न परम्परागत भेषभूषाले नेपाली संस्कृति र लोकबाजाको धनी परम्परालाई उजागर गर्छ।

 

खासमा यो पर्वले मृत्यु सत्य हो भन्ने जीवनको यथार्थलाई स्वीकार्न सिकाउँछ र शोकलाई सामाजिक सद्भाव तथा हास्यमा रूपान्तरण गर्ने अनुपम सन्देश दिन्छ। यसरी आफन्त गुमाउनुको पीडालाई सामाजिक सद्भाव, हाँसो र खुसीमा बदल्ने उद्देश्यका साथ सुरु भएको यो पर्व नेपालको विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदाय भित्र गाइजात्रा वा सापारूका रूपमा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाका दिन मनाउँदै आइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button