पन्नादेवी कन्या माविको जग्गा आम्दानी विवाद: अध्यक्ष मण्डलद्वारा पत्रकार सम्मेलन, विधालयद्वारा तथ्यहिन समाचारको खण्डन
पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले विद्यालयको नाममा फत्तेपुर क्षेत्रमा करिब २२ बिघा जग्गा रहेको जानकारी दिँदै उक्त जग्गा जोतभोग गर्दै आएका केही व्यक्तिहरूले वर्षौंदेखि कुतबाली तथा ठेक्का रकम नबुझाएको बताए। उनले विद्यालयको आर्थिक हित संरक्षणका लागि बक्यौता असुलउपर अभियान सञ्चालन गरिएको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
मण्डलका अनुसार जग्गा जोतभोगकर्ता रामरुप चौधरीले बुझाउनुपर्ने कुतबाली रकम नतिरेपछि इलाका प्रहरी कार्यालय सिमरामा मुद्दा दर्ता भएको थियो। सोही प्रक्रियाअन्तर्गत चौधरी पक्षबाट विद्यालयका लेखापाललाई ३७ हजार ५०० रुपैयाँ नगद बुझाइएको र उक्त रकम विद्यालयको खातामा जम्मा गरिएको बैंक भौचरसमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको उनले बताए। त्यस्तै सिकिन्द्र सहनीबाट तीन लाख ५७ हजार रुपैयाँ अग्रिम भुक्तानी प्राप्त गरी जग्गाको ठेक्का सम्झौता गरिएको दाबी पनि उनले गरे।
अध्यक्ष मण्डलले अर्का जग्गा जोताह उपेन्द्र प्रसाद चौधरीलाई गत जेठ १२ गते बक्यौता रकम बुझाउन लिखित पत्र पठाइएको जानकारी दिँदै आपसी सहमतिअनुसार आगामी सोमबार वा मंगलबारसम्म बाँकी रकमको ५० प्रतिशत भुक्तानी गर्ने प्रतिबद्धता जनाइएको बताए। साथै विद्यालय परिसरमा रहेका ११ वटा सटरमध्ये केही व्यवसायीले समेत लामो समयदेखि भाडा तथा बक्यौता नतिरेको उल्लेख गर्दै आवश्यक परे कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिए।
पत्रकार सम्मेलनका क्रममा मण्डलले आफू आगामी स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको भन्दै राजनीतिक पूर्वाग्रहका कारण आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न आरोप लगाएर समाचार प्रकाशन गराइएको दाबी गरे। उनले आफू सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय रहेको, विभिन्न वडामा दलित बस्ती निर्माणलगायतका कार्यमा योगदान पुर्याएको उल्लेख गर्दै विद्यालय सुधार र आर्थिक पारदर्शिताका लागि आफू प्रतिबद्ध रहेको बताए।
यसैबीच विद्यालय प्रशासनले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै मिति २०८३ जेठ २२ गते साझेदारी राष्ट्रिय दैनिकमा प्रकाशित विद्यालयसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा विद्यालयको जग्गा आम्दानी तथा आर्थिक प्रशासनसम्बन्धी प्रकाशित समाचार अपुष्ट, आधारहीन र तथ्यहीन रहेको दाबी गरिएको छ।
विद्यालय प्रशासनले बक्यौता रकम रहेका जग्गा जोताह तथा अन्य पक्षहरूसँग रकम असुलउपरका लागि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढिरहेको स्पष्ट पारेको छ। साथै विद्यालयको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने गरी पुष्टि नभएका समाचार प्रकाशन नगर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरिएको छ।
विद्यालय व्यवस्थापन पक्षले सार्वजनिक गरेको विवरण र प्रेस विज्ञप्तिपछि विद्यालयको जग्गा आम्दानी, बक्यौता असुली तथा आर्थिक प्रशासन सम्बन्धी विषय थप चर्चामा आएको छ। सम्बन्धित पक्षहरूबीचको विवाद तथा आरोप–प्रत्यारोपका बीच विद्यालय प्रशासनले कानुनी प्रक्रियामार्फत बक्यौता रकम असुल गरी संस्थाको आर्थिक अवस्था सुदृढ बनाउन प्रयासरत रहेको जनाएको छ।



