अपराध

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

कार्तिक १५ बारा ____ बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया नयका टोल बस्ने ५५ वर्षीय भुमि सुधार भन्ने नारायण प्रसाद यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया सडक खण्डमा नारायण प्रसादलाई कात्तिक १० गते साँझ पसलबाट घर जाने क्रममा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई कात्तिक १० गते उनकै घरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा विवादको कारण उनले हत्या गरेको खुल्न आएको छ । साथै हत्यामा प्रयोग भएको खुकुरी चौधरीको घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी पर्सा वीरगंज महानगरपालिका-३ छप्कैया टोल बस्ने २६ वर्षीय बिरेन्द्र साह सोनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पर्सा बहुदरामाई नगरपालिका-९ बस्ने २८ वर्षीय बिजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा प्रसौनी गाउँपालिका-१ त्रिवेणीस्थित गण्डक नहरमा कात्तिक १ गते बिहान बिरेन्द्र साह मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न बिजय कुमारलाई कात्तिक ७ गते बारा कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित दशगंजाबाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिजयले मृतकको श्रीमतीसँग प्रेम सम्बन्धको कारणले विवाद हुँदा बिरेन्द्रको हत्या गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button