‘आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’: रौतहटमा ७१औँ प्रहरी दिवसमा विशेष कार्यक्रम

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ रौतहटमा ७१औँ प्रहरी दिवस तथा विश्व दृष्टि दिवस-२०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। सो अवसरमा सडकमा घाम, धुलो र धुवाँबीच जोखिम मोलेर खटिने ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ।
नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालले जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरसँगको सहकार्यमा गरुडा नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय शिवनगर परिसरमा बिहीबार उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
सवारी साधनको चाप, धुलो, धुवाँ र प्रदूषणको प्रत्यक्ष असर झेल्दै ड्युटीमा खटिने ट्राफिक प्रहरीको आँखाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा आँखामा समस्या देखिएका व्यक्तिहरूलाई चिकित्सकीय परामर्शका साथै आवश्यक औषधि र सुरक्षात्मक चश्मा समेत वितरण गरिएको थियो।
कार्यक्रमको उद्घाटन नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालका अध्यक्ष विजयकुमार सिंह र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
सडकमा सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा खटिने ट्राफिक प्रहरीका लागि स्पष्ट दृष्टि अत्यन्त आवश्यक मानिन्छ। लामो समयसम्म धुलो, धुवाँ र घामको सम्पर्कमा रहँदा आँखामा गम्भीर असर पर्न सक्ने भएकाले नियमित परीक्षण र सुरक्षात्मक सामग्रीको प्रयोग अपरिहार्य रहेको चिकित्सकहरूले बताएका छन्।
प्रहरी दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षासँग जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यसले कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुका साथै नियमित स्वास्थ्य परीक्षणको महत्त्वलाई उजागर गरेको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापामगरसहित प्रहरी अधिकारी, सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीयको उपस्थिति रहेको थियो।



