भोटेकोशी बाढीमा बेपत्ता नेपाली सेनाका जवान सुरज कुमार साहको कुशको शव बनाई अन्त्येष्टि

बारा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका जवान सुरज कुमार साहको लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवारले हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गरेको छ।
श्रीनाथ गणमा कार्यरत साह भदौ १० गते रसुवाको टिमुरे आर्मी बेसक्याम्पमा कर्तव्यमा खटिएका बेला भोटेकोशी बाढीमा परी बेपत्ता भएका थिए। त्यसयता उनको खोजी कार्य जारी रहे पनि लामो समयसम्म कुनै अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरेको हो।
परिवारका अनुसार असोज १० गते गाउँकै आर्यघाटमा कुशको शव बनाई हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो। दाहसंस्कारअघि बिहान ११ः३० बजे नेपाली सेनाबाट सलामी समेत दिइएको परिवारले जनाएको छ।
साहको वास्तविक शव फेला नपरे पनि धार्मिक मान्यताअनुसार कुशको शव बनाई गरिएको अन्त्येष्टिसँगै परिवारले उनको अन्तिम संस्कार सम्पन्न गरेको जनाएको छ। लामो समयदेखि बेपत्ता रहेका साहको अवस्थाबारे परिवारमा अझै पीडा र अन्योल कायम रहेको छ।



