समाचार

काठमाडौंमा आइतबारसम्म वर्षा जारी रहने, सोमबारदेखि देशैभर मौसम सफा हुने पूर्वानुमान

काठमाडौं, ११ असोज । देशका विभिन्न भूभागमा भइरहेको वर्षाको क्रम सोमबारदेखि घट्दै जाने र मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अन्डमान सागर हुँदै बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले त्यसको प्रभाव नेपालको मौसममा परेको हो। यसबाहेक नेपालमा हाल मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यका र बागमती प्रदेशका केही स्थानमा वर्षा केही बेर रोकिए पनि आइतबार बिहानसम्म बेलाबखत हल्कादेखि मध्यम वर्षा हुनेछ। आइतबार दिउँसोदेखि मौसममा क्रमिक सुधार भई सोमबारदेखि देशका धेरैजसो स्थानमा मौसम खुल्ने र घाम लाग्ने सम्भावना रहेको छ।

पश्चिमी भूभागहरू (गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश) मा भने अझै केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ। यद्यपि आइतबार साँझदेखि पश्चिम क्षेत्रमा पनि वर्षाको दर घट्दै जाने पूर्वानुमान छ।

यसैगरी त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार भारी वर्षाको जोखिम अब करिब २४ घण्टा रहनेछ। विशेष गरी सुदूरपश्चिमदेखि गण्डकीसम्मका क्षेत्र र बागमतीका केही दक्षिणी जिल्लाहरूमा उच्च सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button