चार वर्षमा सातकाे मृत्यु, झाडीले छेक्यो जंगलसहिया-धन्सार सडक

रौतहटको जंगलसहिया-धन्सार सडकखण्डमा बढ्दो दुर्घटनाले स्थानीयमा चिन्ता बढाएको छ। पछिल्लो चार वर्षमा यस सडकखण्डमा भएका विभिन्न दुर्घटनामा सातजनाले ज्यान गुमाएको स्थानीय समाजसेवी ईश्वर प्रधानको दाबी छ। मृत्यु हुनेमा अधिकांश युवा रहेको बताइएको छ।
दुर्घटनाको जोखिम बढिरहे पनि सडकको दुवैतर्फ फैलिएको झाडी र अग्लो घाँसले समस्या थप जटिल बनाएको स्थानीयको गुनासो छ। वर्षा सुरु भएसँगै सडक किनारमा झाडी बाक्लिँदा विपरीत दिशाबाट आउने सवारीसाधन मोड नजिक नपुगेसम्म देख्न कठिन हुने अवस्था बनेको छ।
स्थानीय समाजसेवी दीपेन्द्र नेपालले सडकको दुवैतर्फ बढेको झाडीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। त्यसपछि वडा अध्यक्षका प्रत्याशी तथा समाजसेवी ईश्वर प्रधानले पनि सडक सुरक्षाको विषयलाई उठाउँदै तत्काल पहल गर्न सरोकारवालासँग अपिल गरेका छन्।
प्रधानका अनुसार सडक दुर्घटनाका सम्भावित कारणमा तीव्र गति, मादक तथा लागूपदार्थ सेवन गरी सवारी चलाउनु, अनुमतिपत्रबिनै सवारी चलाउनु, सडकमा धेरै घुम्ती हुनु, सडकको दुवैतर्फ झाडी बढ्नु र आवश्यक स्थानमा ट्राफिक संकेत नहुनु रहेका छन्।
उनले सामाजिक सञ्जालमार्फत दुर्घटना न्यूनीकरणका लागि गुजरा नगरपालिका, सम्बन्धित वडा, सडक डिभिजन कार्यालय चन्द्रपुर, ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय विजयपुर, हरिनगर प्रहरी चौकी, सशस्त्र प्रहरी तथा स्थानीय जनप्रतिनिधि र समाजसेवीसहित सबै सरोकारवालाबीच सामूहिक छलफल र तत्काल पहल आवश्यक रहेको बताएका छन्।
स्थानीयका अनुसार सडकको झाडी सफा गर्ने सामान्य कामसमेत समयमै हुन नसक्दा सडकको दृश्यता कमजोर भएको छ। विशेषगरी घुम्ती तथा मोडमा विपरीत दिशाबाट आउने सवारीसाधन समयमै देख्न नसक्दा जोखिम बढेको उनीहरूको भनाइ छ।
स्थानीयले सडकको दुवैतर्फ बढेको झाडी तत्काल हटाउन, जोखिमयुक्त मोडमा ट्राफिक संकेत राख्न, सडक सुरक्षाका लागि आवश्यक पूर्वाधार थप गर्न तथा तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि निगरानी बढाउन माग गरेका छन्।
चार वर्षमा ७ जनाको मृत्यु भएको दाबी र अहिले सडक नै झाडीले छोपिँदै गएको अवस्थाले जंगलसहिया–धन्सार सडकको सुरक्षा व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने देखिएको छ। दुर्घटना भएपछि क्षतिपूर्ति र उद्धारमा जुट्नुभन्दा दुर्घटनाको सम्भावित कारण पहिचान गरी समयमै रोकथामका उपाय अपनाउनु आवश्यक देखिन्छ।



