समाचार

भारी वर्षाको पूर्वानुमानसँगै मधेशमा सुरक्षा संयन्त्र ‘स्ट्यान्डबाइ’

रौतहट, ९ असोज । भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित विपद्मा तत्काल उद्धार तथा राहतमा खटिन सक्ने गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीका अनुसार आठवटै जिल्ला प्रहरी कार्यालयलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ। प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई समेत उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले पनि सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्दै सम्भावित क्षति न्यूनीकरण र तत्काल उद्धारमा जोड दिएको छ।

बाढीको जोखिम रहेका क्षेत्रमा रौतहटमा बागमती र लालबकैया, धनुषामा कमला, जलाद र औरही, सिरहामा कमला र बलान, सप्तरीमा सप्तकोशीसहित खाँडो र महुली, सर्लाहीमा बागमती र लखनदेई तथा महोत्तरीमा रातु, मडाहा र बिग्ही नदी आसपासका क्षेत्रलाई संवेदनशील मानिएको छ। बारा र पर्सामा चुरेबाट आउने आकस्मिक बाढी तथा कटानको जोखिमलाई ध्यान दिँदै निगरानी बढाइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। यही अवस्थालाई मध्यनजर गर्दै सम्भावित विपद्पछि उद्धार गर्नुभन्दा जोखिम आउनुअघि नै सुरक्षा संयन्त्र परिचालन गर्ने रणनीति अपनाइएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button