समाचार

पूजाका क्रममा विवाद : श्रीमतीसहित दुई पण्डितको गोली हानी हत्या

 उत्तर प्रदेशस्थित आजमगढमा एक व्यक्तिले श्रीमतीसहित दुई पण्डितको गोली हानी हत्या गरेका छन्।

मंगलबार साँझ करिब ६ बजे अहिरौला थाना क्षेत्रको शम्भूपुर गहजी गाउँमा पूजा भइरहेको समयमा आधार कार्डको विषयलाई लिएर विवाद भएपछि अरविन्द सिंहले लाइसेन्सप्राप्त राइफलबाट गोली चलाएको प्रहरीले जनाएको छ।

गोली लागेर अरविन्दकी श्रीमती बबिता सिंह (४०), पटखौली गाउँका पण्डित महेन्द्र पाठक (६०) र छितौना भटौली गाउँका पण्डित अखिलेश मिश्रा (५५) को घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाका बेला घरमा बबिताकी ७० वर्षीया सासू समला देवी, पाँच वर्षीया छोरी परी, ६ वर्षीय छोरा लक्खा र सात महिनाकी छोरीसमेत रहेका थिए।

प्रहरीका अनुसार बबिताले घरमा धार्मिक अनुष्ठान गराइरहेकी थिइन्। सोही क्रममा बजारबाट घर आएका अरविन्दले पूजामा सहभागी पण्डितहरूसँग सोधपुछ गरेका थिए। पण्डितहरूले पूजा गराउन आएको बताएपछि उनले उनीहरूसँग आधार कार्ड मागेका थिए।

आधार कार्डको विषयमा अरविन्द र पण्डितहरूबीच विवाद भएपछि उनी रिसाएर कोठाबाट राइफल निकालेर आएको र गोली चलाएको प्रारम्भिक विवरण छ।
घटनापछि अरविन्द तीन जना बालबालिकासहित घरभित्रै बन्द भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि आसपासका ६ वटा प्रहरी थानाबाट टोली घटनास्थलमा परिचालन गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button