वीरगन्जबाट ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ

वीरगन्जबाट ठूलो परिमाणको लागू औषध ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले गएराति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ का ३७ वर्षीय सन्तोषप्रसाद पटेल रहेका छन्।
पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लका अनुसार वीरगन्ज महानगरपालिका–१५ स्थित चालिस फिट्टे सडकखण्डमा बीआर ०५ बीएल १६८० नम्बरको अपाचे मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्दा पाइन्टको खल्तीमा लुकाइराखेको १५४ ग्राम ब्राउन सुगर फेला परेको थियो।
सोही क्रममा प्रहरीले पक्राउ परेका पटेलको घरमा खानतलासी गर्दा थप ११ ग्राम ५९ मिलिग्राम अफिमसमेत बरामद गरेको छ।
लागू औषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



