कांग्रेस नगर सभापतिमा सन्तोषको दाबी, यस्ताे छ उनकाे भावी कार्यदिशा

पथरी, ७ असाेज । नेपाली कांग्रेसको नगर नेतृत्व चयनको तयारीसँगै पथरी–शनिश्चरेमा सभापतिका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। यही क्रममा सामाजिक सेवा, युवा नेतृत्व र संगठनात्मक अनुभवलाई आधार बनाउँदै सन्तोष कटुवालले नगर सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
नगर सभापतिको नेतृत्वका लागि आन्तरिक छलफल र भेटघाट बढिरहेका बेला कटुवालले युवा, सीप, रोजगारी, उद्यमशीलता र संगठन सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
कटुवाल नेपाल तरुण दलको नगर सभापति रहँदा पथरी–शनिश्चरेका १ सय जना युवा–युवतीलाई निःशुल्क सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिएको बताउँछन्। अब नगर सभापतिको जिम्मेवारी पाए ५ सय जना युवा–युवतीलाई निःशुल्क सीपमूलक तालिम दिने उनको योजना छ। “युवालाई राजनीतिक कार्यक्रममा सहभागी गराउने मात्र होइन, सीप, रोजगारी र उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो,” कटुवालले भने।
सामाजिक सेवाबाट राजनीतिक यात्रासम्म
पथरीशनिश्चरे–७ स्थित जनचेतना युवा क्लबको सचिवका रूपमा २०६४ जेठदेखि सामाजिक क्षेत्रमा सक्रिय भएका कटुवालले विभिन्न सामाजिक संस्था तथा गैरसरकारी संस्थासँग सहकार्य गर्दै काम गरेको बताएका छन्। शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय, लुथरन विश्व महासंघ, क्यारिटास नेपाल, विश्व खाद्य कार्यक्रम, अन्तर्राष्ट्रिय आप्रवासन संगठन, नारी विकास संस्था, नेपाल बहिरा संघ तथा सहारा नेपाललगायत संस्थासँग सहकार्य गरेको उनको भनाइ छ।
२०७२ को भूकम्पपछि १४२ पिन्ट रक्त संकलन अभियान तथा कोरोना महामारीका क्रममा ८९ संक्रमित परिवारमा घरमै सरसफाइ तथा कीटाणुशोधन र मास्क वितरण अभियान सञ्चालन गरिएको उनले बताए। विपन्न परिवारलाई खानेपानीको धारा जडान, बालबालिकालाई शैक्षिक सामग्री वितरण, सरसफाइ तथा सार्वजनिक स्थलमा फोहोर राख्ने डब्बा वितरणलगायत सामाजिक अभियानमा पनि आफू सक्रिय रहेको कटुवालको दाबी छ। पथरीशनिश्चरे–१ का रेगन राईको उपचारका लागि सञ्चालित ‘रेगन बचाऊ अभियान’मा संयोजक बनेर ७० हजार रुपैयाँ सहयोग जुटाउनुका साथै पथरीदेखि काठमाडौंसम्म निःशुल्क एम्बुलेन्स सेवाका लागि समन्वय गरेको विवरण पनि उनले दिएका छन्।
नगर नेतृत्वमा युवा र संगठन प्राथमिकतामा
तरुण दलको नगर सभापति र नेपाली कांग्रेस नगर सचिवको जिम्मेवारी सम्हालिसकेका कटुवालले नगर सभापतिको जिम्मेवारी पाए वडा तहको संगठनलाई थप सक्रिय बनाउने, युवाको सहभागिता बढाउने तथा सीप, रोजगारी र उद्यमशीलताका कार्यक्रम विस्तार गर्ने बताएका छन्। नगर नेतृत्व चयनको माहोल तातिँदै जाँदा कटुवालको दाबी संगठनात्मक अनुभवसँगै युवा र सीप विकासको योजनामा केन्द्रित देखिएको छ। सामाजिक सेवाबाट सुरु भएको यात्रा, तरुण दलको नेतृत्व र कांग्रेस नगर सचिवको जिम्मेवारी सम्हालिसकेका कटुवाल अहिले नगर सभापतिको निर्वाचनमा आफ्नो दाबी लिएर कार्यकर्तामाझ पुगेका छन्।




