रक्सौलको प्राचीन हनुमान मन्दिरबाट चाँदीका मुकुटसहितकाे सामान चोरी

वीरगन्जसँग जोडिएको भारत बिहारको रक्सौलमा रहेको दक्षिणमुखी हनुमान मन्दिरबाट चाँदीका मुकुट, चरणपादुका, गदा, छत्रसहित भगवान् श्रीरामको मुकुट चोरी भएको छ।
भारतीय दूतावासको बंगला क्याम्पस परिसरमा रहेको मन्दिरमा आइतबार राति अज्ञात समूहले चोरी गरेको हो। चोरले मन्दिरको दानपेटिका समेत तोडेर त्यसभित्र रहेको नगद रकम लगेका छन्।
सोमबार बिहान करिब ५ बजे मन्दिरका चौकीदारले पुजारी पण्डित अजयकुमार उपाध्यायलाई फोन गरी चोरीबारे जानकारी गराएपछि घटना सार्वजनिक भएको हो। पुजारी मन्दिरमा पुगेर अवस्था हेरेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै हरैया थाना प्रहरीका प्रभारी थानाध्यक्ष कुमारी बिट्टु र प्रहरी पदाधिकारी बलि रायको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मन्दिरमा कार्यरत चौकीदार रितेशकुमारसहित अर्का एक चौकीदार तथा पुजारी उपाध्यायसँग घटनाबारे सोधपुछ गरेको छ।
प्रहरीले मन्दिर तथा आसपास क्षेत्रमा जडान गरिएका सम्भावित सीसीटीभी क्यामेराको फुटेजसमेत जाँच गरिरहेको छ।
प्रारम्भिक विवरणअनुसार चोरी भएका चाँदीका सामानको तौल करिब डेढ किलो रहेको छ। दानपेटिकाबाट चोरी भएको नगदसहित कुल चोरीको मूल्य एक लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।
चोरको पहिचान र खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ। घटनामा संलग्नको खोजी तथा पक्राउका लागि प्रहरीले सम्भावित स्थानमा छापामारी गरिरहेको जनाएको छ।



