ट्रकको ठक्करबाट नवलपरासीमा १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते

नवलपरासी, ५ असोज । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती-८ स्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा आइतबार साँझ ट्रकको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) अनिल पण्डितका अनुसार स्थानीय फलफूल चोकमा सडक पार गर्दै गरेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ०१-०२-००१ ख ८०७७ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्घाखाँची घर भई हाल कावासोती-११ कुडौली बस्ने ३२ वर्षीय सूर्य बीसी, उनकी २५ वर्षीया श्रीमती पुष्पा चौहान र १८ महिनाकी छोरी घाइते भएका थिए।
घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएकोमा बालिकाको साँझ ७:०५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते आमा पुष्पा चौहानलाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक बाराको सिमरा-१४ का ३० वर्षीय सौरभ खतिवडालाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।



