सुनसरी देवानगञ्जमा गोली प्रहार : घाइते निरज यादवको शरीरबाट गोली निकालियो

काठमाडौं । सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ।
देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित वीपी चोकमा गत शनिबार राति गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको आइतबार शल्यक्रिया गरी गोली निकालिएको हो।
यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। उनी हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका थिए।
घटनापछि प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा युवतीको विषयलाई लिएर युवाबीच भएको विवाद तथा त्यसबाट उत्पन्न रिसइबीका कारण गोली प्रहारको घटना भएको खुलेको छ।



