विविधता र समावेशीताको रंगमा ‘अन्तर्राष्ट्रिय युवा दिवस-२०२५’
काठमाडौँ । आज अन्तर्राष्ट्रिय ‘युवा’ दिवस । बिश्वभर बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्ष युवा दिवसका अवसरमा ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने मूल नारा तय गरिएको छ ।
यसै सन्दर्भमा ‘दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स’ले ‘डाइभर्सिटी कार्निभल–विविधता उत्सव २०२५’ सोमबार सम्पन्न गरेको छ । देशभरका विभिन्न जाति, लिङ्ग, भाषा, भौगोलिक क्षेत्र र पहिचानका डेढ सयभन्दा बढी युवाको सहभागिता रहेको थियो ।
अलायन्सले युवाहरुलाई लक्षित गर्दै एउटै मञ्चमा अन्तरक्रिया, कार्यशाला र सांगितिक प्रस्तुतिद्वारा दिवसलाई उत्सवका रूपमा मनाइएको हो ।
कार्यक्रममा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारले ‘डाइभर्सिटी कार्निभल’लाई विविधता र समावेशीताको अभ्यासका रूपमा वर्णन गरे । उनले सिमान्तकृत युवाको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्य रहेको बताए। उनका अनुसार, छलफल र कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू सम्बन्धित निकायमा पेश गरिनेछ।
मुसहर समुदायबाट पहिलोपटक चिकित्सक बन्न सफल डा.स्मृति हरिजनले सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिबारे प्रेरणादायी सन्देश दिइन्।
‘सपना, संघर्ष र सफलता’ शीर्षकमा भएको प्यानल छलफलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा, अभिनेता नाजिर हुसेन, मधेश प्रदेश सरकारका उपसचिव सुनिल कुमार पासवान र डिसएबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले आ–आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वैदेशिक रोजगारीका क्षेत्रमा सक्रिय अभियन्ता महेन्द्र पाण्डेले सीमान्तकृतका आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिए । युवालाई जातीय असमानता, भेदभाव र प्रतिकूलता विरुद्ध बोलेर, सुनेर र सिर्जनात्मक रूपमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा सारंगीवादक किरण नेपालीको समूह र महिलाहरूको ब्याण्ड ‘कासा’ ले सांगीतिक प्रस्तुति दिएका थिए। साथै, चार कलाकारले एउटै क्यानभासमा चित्रकला प्रदर्शन गर्दै विविधता र एकताको सन्देश प्रेषण गरे।
त्यस्तै भारतका प्रख्यात सामाजिक अभियन्ता तथा रामोन म्यागसेसे पुरस्कार विजेता बेजवाडा विल्सन र चर्चित लेखक सीके लालले मन्तव्य ब्यक्त गरका थिए ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यसैक्रममा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको इतिहाँस छ । तरसरकारीरूपमा युवा परिषद्को अगुवाइमा विसं २०७३ देखि यो दिवस मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

