बेइजिङ (चीन) । घुस लिएको र गैरकानुनी ऋण दिएको आरोपमा बैंक अफ चाइनाका पूर्वप्रमुख लिउ लियान्जे पक्राउ परेका छन् ।
गत मार्चमा अध्यक्ष पदबाट राजीनामा दिएको एक हप्तापछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उनी सन् २०१९ देखि बैंक अफ चाइनाका अध्यक्ष थिए ।
लिउमाथि गैरकानुनीरूपमा ऋण दिने, प्रतिबन्धित प्रकाशनहरू देशमा ल्याउने र बैंकमा आफ्नो पद प्रयोग गरी घुस लिन र निजी क्लबहरू र स्की रिसोर्टहरूमा निमन्त्रणा जस्ता अन्य सुविधाहरू स्वीकार गर्ने आरोप लागेको छ ।
६२ वर्षीय लिउ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अनुसन्धानमा फसेका सबैभन्दा वरिष्ठ बैंकरमध्ये एक हुन् ।
चीनमा यसअघि पनि सरकारी स्वामित्वमा रहेका बैंकहरूका उच्च प्रोफाइल वित्तीय अधिकारीहरूलाई जरिवाना तथा जेल सजाय सुनाइसकिएको छ । यसअघि चाइना लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष वाङ बिनलाई घुसखोरीको लागि बिना प्यारोलको जेलमा आजीवन जेल सजाय सुनाइएको छ । बीबीसी