एनप्याब्सन पर्साका अध्यक्षकै कलेज गैरकानुनी, महानगरले सिलबन्दी गरेको छ।

155
वीरगञ्ज, २१ भदौ वीरगञ्ज
महानगरपालिका ले बिहीवार थप २ वटा कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक संस्थाहरुलाई नियमन गर्न अनुगमन गर्ने क्रममा अनुमति नलिएर सञ्चालनमा रहेका २ वटा कलेजमा महानगरपालिकाको सिलबन्दी गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित सत्यम पब्लिक कलेज र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवले जानकारी दिए । वीरगञ्ज ८ पानीट्याङ्की स्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमति लाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले बताए । सत्यम कलेजले रानीघाट स्थित शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको भेटिएको हो । एन्जल इन्टरनेशनल स्कुल एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले सञ्चालन गरीरहेका छन् ।
निजी शैक्षिक संस्थाहरु को छाता संगठन र शैक्षिक संस्थाहरु नियमअनुरुप संचालन हुनुपर्छ भनेर आवाज उठाउनेहरु नै गैर कानुनी रुपमा फर्जी कलेज संचालन गरिरहेको भेटिएको हो । एनप्याब्सन सँग आवद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई विक्री गरेर संचालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको शिक्षा महाशाखाका अधिकृत नारायण चापागाईँ बताउँछन् । महानगरले शिक्षा क्षेत्र सुधारका लागि अहिले कडा रुपमा प्रस्तुत भएर अनुगमन र कारबाही दुबैलाई सँगसँगै अघि बढाएको भन्दै उनले अब कुनै पनि बहानामा अनधिकृत रुपमा संचालनमा रहेका शैक्षिक संस्थालाई नछाडिने चेतावनी पनि दिएका छन् ।
समितिका संयोजक यादव नेतृत्वको अनुगमन टोलीले बिहीबार नै न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमति लाई दुरुपयोग गर्दै अन्य ठाउँमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरीरहेको पर्सा म्यानेजमेन्ट कलेजमा पनि सिलबन्दी गरेको छ । समितिका संयोजक यादवसँगै वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा सल्लाहकार अभिषेक तिवारी, शिक्षा अधिकृत नारायण चापागाइँ, संचारकर्मी तथा स्थानीय प्रतिनिधि लगायतको टोलीले शैक्षिक संस्थाहरु को अनुगमनलाई निरन्तरता दिएको छ ।
समितिले यस अघि मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको प्रिन्सटन मोडेल एकेडेमी र युनिभर्सल प्लस टु कलेजमा सिलबन्दी गरेको थियो । सोमवार अन्नपूर्ण कलेज र युनिभर्सल एकेडेमीमा सिल गरेको थियो भने त्यसअघि वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजि बी किड्समा सिल गरेको थियो ।
Leave a comment