अन्तराष्ट्रिय

नेपालले ३० टन गोलभेडा भारत निर्यात गर्याे

काठमाडौँ । भारतमा उत्पादन घट्दा नेपालबाट एक महिनामै ३० टन गोलभेडा निर्यात भएको छ । उत्पादनमा आएको गिरावटले भारतमा गोलभेडाको भाउ आकासिएपछि चालु आर्थिक वर्षको साउन २८ गतेसम्म एक महिनाको अवधिमा काकडभिट्टा र भैरहवा नाकाबाट उक्त परिमाणको गोलभेडा निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तरकारी बालीलाई भारतले प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेपछि नेपालबाट गोलभेडा निर्यात हुन थालेको हो । ‘गोलभेडा, हरियो मटरकोसा, हरियो खुर्सानी लगायत तरकारी बालीलाई प्यान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेर सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएका थियौं’ मन्त्रालय प्रवक्ता सबनम सिवाकोटीले भनिन् ‘भारतले शर्तसहित केही निश्चित समयलाई आयात खुला गरेपछि निकासी सुरु भएको हो ।’
यसलाई निरन्तरता दिन थप पहल भइरहेको उनको भनाइ छ । निर्यातलाई निरन्तरता दिन सकेमा ब्यापार घाटा कम गर्न मद्दत पुग्ने र यहाँका किसानले समेत राम्रो मूल्य पाउने उनले बताइन् । गोलभेडाको भाउ नपाएको भन्दै असार ३ मा ठूला किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेडा फालेरै विरोध जनाएका थिए ।

त्यसबेला कालिमाटी तरकारी बजारमा टनेल गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो । लागत नउठेको भन्दै केही ठूला किसानले गोलभेडा फालेर विरोध गरेका थिए । विरोधस्वरुप उनीहरुले ३ दिनसम्म बजारमै पठाएनन् ।

बजारमा पठाउन छाडेपछि भाउ उकालो लाग्न थालेको थियो । स्वदेशी गोलभेडा भारत जान थालेपछि नेपालमा भने आचाक्ली महँगी बढेको छ । समितिको तथ्याङ्क अनुसार सोमबार ठूलो गोलभेडाको न्यूनतम प्रतिकिलो १ सय ६० र अधिकतम १ सय ८० रुपैयाँमा बिक्री भएको छ । त्यस्तै, सानो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ७० र अधिकतम ८० रुपैयाँ, टनेल गोलभेडाको न्यूनतम मूल्य ९५ रुपैयाँ र अधिकतम १ सय १० रुपैयाँमा बिक्री भएको छ ।कान्तिपुरबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button