सरकार र माओवादीप्रति जसपा आक्रोशित
जाहेरीका आधारमा अनुसन्धान अघि बढेमा जसपा अध्यक्ष यादव कानुनी प्रक्रियामा तानिने, सरकार मुलुकको शान्ति, स्थिरता र सद्भाव बिथोल्न उद्धृत रहेको जसपाको आरोप
काठमाडौँ — करिब १७ वर्षअघिको गौर हत्याकाण्डलाई लिएर सत्ता साझेदार दुई दल माओवादी र जसपाबीचको सम्बन्ध चिसिन थालेको छ । गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच सहमति भएको चौथो दिन (शुक्रबार) जसपाले पत्रकार सम्मेलन गरी तत्कालीन माओवादीका कारण उक्त घटना भएको आरोप लगाएको छ । माओवादी नेतृत्वको वर्तमान सरकार विगतका सम्झौता उल्लंघन गर्दै रहस्यमय ढंगले अघि बढेकामा उसले खेद व्यक्त गरेको छ ।
२०६३ चैत ७ गते रौतहटको गौरमा भएको हिंसात्मक झडपमा तत्कालीन मधेसी जनअधिकार फोरम (हाल जसपा) का कार्यकर्ताको आक्रमणमा परी २७ माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेता–कार्यकर्तालाई दोषी किटान गरी रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ । जाहेरीका आधारमा अनुसन्धान अघि बढेमा यादव पनि कानुनी प्रक्रियामा तानिने छन् ।
यही सम्भावनाबीच जसपाले पत्रकार सम्मेलनमार्फत गौर हत्याकाण्डमा अध्यक्ष यादवलाई राजनीतिक पूर्वाग्रही र बदनियतपूर्ण ढंगले फसाउन खोजिएको बताएको छ । उसले मंगलबारको सहमतिलाई ‘रहस्यमय’ भनेको छ । ‘दोषी उम्काउने र घटनामा संलग्न नै नरहेका निर्दोष व्यक्तिहरूलाई बदनियतपूर्ण ढंगले जबर्जस्ती फसाउने कार्य सरकारले तत्काल बन्द गरोस्,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सर्वपक्षीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सत्य–तथ्य पत्ता लगाएर समस्याको समाधान गरियोस् ।’
जसपाले गौरकाण्डका विषयमा जारी गरेको १६ बुँदे प्रेस विज्ञप्तिको ८ वटा बुँदामा घटनाको दोषी माओवादी भएको प्रस्ट्याउन खोजिएको छ । २०६३ माघ ५ मा लहानमा माओवादी कार्यकर्ताको गोलीबाट रमेश महतोको मृत्यु भएको घटनालाई गौर हत्याकाण्डसँग जोडिएको छ । पार्टी प्रवक्ता मनीषकुमार सुमनले सोही घटनाको विरोधमा आन्दोलन थप तीव्रताका साथ फैलिँदै जाँदा तराई–मधेशमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमबीच झडप र आक्रमणका घटना भएको बताए । ‘तराई–मधेशका विभिन्न भूभागमा मधेशी जनअधिकार फोरमले आयोजना गरेका आमसभा र विरोध प्रदर्शनलगायत कार्यक्रममा आक्रमण गर्ने निर्णय तत्कालीन नेकपा माओवादीले गर्यो,’ प्रवक्ता सुमनले भने, ‘खासगरी भैरहवा, नेपालगन्जलगायत स्थानमा माओवादी छापामारद्वारा हातहतियारसहित भीषण आक्रमण गरी मञ्च तोडफोड र आगजनी गर्ने, सभा बिथोल्ने कार्यसमेत गर्दै मुलुकलाई थप द्वन्द्व र मुठभेडतर्फ धकेल्ने कार्य भयो ।’