वीरगंज १० बैशाख
बारा–२ मा आज भईरहेको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका नेता तथा कार्याकर्ताहरुले अराजक गतिविधिहरु गरिरहेकोमा जनतमत लगायत पार्टीका नेताहरुले बिरोध जनाईरहेका छन् ।
सो क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न निर्वाचन क्षेत्रमा आएको भन्दै मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
मुख्यमन्त्री यादवले उपनिर्वाचनमा आचारसंहिताविपरित कार्य गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्री यादवले उपनिर्वाचनमा स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहितविपरित कार्य गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएका आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।
उपनिर्वाचन भइरहेको अवस्थामा मुख्यमन्त्री यादव अनुमतिविना पचरौता नगरपालिका क्षेत्रमा गएको पाइएपछि उनीसँग २४ घण्टे स्पष्टीकरण सोधिएको ज्ञवालीले बताए ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरित हुने गरी कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ कि हुँदैन? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने?,’ मुख्यमन्त्री यादवलाई आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख रहेको छ ।