पाकिस्तानमा बढ्दो चिनियाँ प्रभाव

68

पछिल्लो समय पाकिस्तानमा चीनको प्रभाव उल्लेखनीय रुपमा बढेको पाइएको छ । ताइवानमा आधारित रहेको दुष्प्रचार विरोधी डबलथिंक ल्याबको सञ्जाल ‘चाइना इन द वल्र्ड (सीआईटीडब्लू) ले जारी गरेको प्रतिवेदनमा अध्ययन गरिएका ८२ मुलुक मध्ये पाकिस्तानमा सबैभन्दा धेरै चीनको प्रभाव रहेको उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनमा पाकिस्तानको विदेश नीति, प्रविधि र सैन्य क्षेत्रमा चीनको प्रभाव बढि रहेको जनाइएको हो । यसबाहेक अमेरिकी शान्ति प्रतिष्ठानको स्टिमसन सेन्टरका सिनियर फेलो समीर लालवाणीले गत मार्चमा जारी गरेको ‘अ थ्रेसहोल्ड अलायन्स द चाइना–पाकिस्तान मिलिटरी रिलेसन्सिप’ मा पनि चीन र पाकिस्तान बीच सैन्य क्षेत्रमा साझेदारी विस्तार भइरहेको उल्लेख छ ।
पाकिस्तानमा चीनको बढ्दो प्रभाव दक्षिण एसियाका लागि भने चिन्ताको विषय भएको विश्लेषकहरु बताउँछन् ।
अमेरिका र चीन बीच बढ्दो प्रतिस्पर्धा, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती, चीन र भारत बीच टकराव जस्ता विभिन्न कारणले पछिल्लो दशमा दक्षिण एसियाको भू राजनीतिक अवस्थामा परिवर्तन आएको छ । यस्ता कारणले चीन र पाकिस्तान बीच सैन्य सहकार्य बढ्न थालेको विश्लेषण गरिएको छ ।
यी दुई मुलुकका जलसेनाले समान प्रविधिको प्रयोगलाई विस्तार गरेका छन् भने बेला बेलामा दुई मुलुकले संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् ।
कुनै पनि मुलुकसँग औपचारिक गठबन्धनबाट चीनले आफूलाई टाढा राख्दै आएको छ । यद्यपि पछिल्लो दशकमा पाकिस्तान र चीनबीचको सैन्य साझेदारी गहिरिँदै गएको पाइन्छ । शीतयुद्धको अन्त्ययता पाकिस्तान चीनको सबैभन्दा नजिकको सैनिक साझेदारको रुपमा रहँदै आएको छ ।
पाकिस्तानमा प्रभाव विस्तार गरी हिन्द महासागरमा आफ्नो सैन्य क्षमता बढाउनका लागि चीनले पाकिस्तान सँग सैन्य साझेदारीलाई बढाएको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।
चीनले पाकिस्तानलाई हतियार आपूर्ति गर्दै आएको छ । उदाहरणका लागि चीनले निर्यात गर्ने सम्पूर्ण हतियारको ४० प्रतिशत पाकिस्तानले खरिद गर्दै आएको छ भने पाकिस्तानले आयात गर्ने ७५ प्रतिशत हतियार चीनबाट खरिद गर्ने गरेको छ ।
केही विश्लेषकहरु पाकिस्तानसँग चीनको साझेदारीलाई रुससँगको चिनियाँ साझेदारीसँग तुलना गर्न सकिने बताउँछन् । चीनले पाकिस्तानलाई सन् १९७० देखि ९० को दशकसम्म आणविक हतियार विकास गर्न सहयोग गरेको बताइन्छ ।
चीन र पाकिस्तानबीच बढ्दो साझेदारीका कारण कालान्तरमा पाकिस्तान आफ्नो सैन्य क्षमता वृद्धिका लागि चीनमा नै निर्भर हुने अवस्था आउने चिन्ता रहेको पनि विश्लेषकहरु बताउँछन् । यसले पाकिस्तानी सेनाको क्षमतामा ह्रास आउनसक्ने उनीहरुको चिन्ता रहेको छ ।

एजेन्सी

Leave a comment