नयाँ दिल्ली — भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका छन् ।राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा राजा वाङचुक भारत आएका हुन् ।
चीनसँगको सीमा विवादका सन्दर्भमा भुटानका प्रधानमन्त्री लोटे छिरिङको ‘सफ्ट’ धारणा बाहिर आएपछि भारतको कुटनीतिक वृत्त तरंगित भएका बेला राजा दिल्ली आएका हुन् । विदेशमन्त्री एस जयशंकरले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राजा वाङचुकको स्वागत गरेका छन् । अपराह्न दिल्ली आइपुगेका राजा वाङचुक होटल ताज प्यालेसमा बसेका छन् ।
पहिलो दिन विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका राजाको दोस्रो दिन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति मुर्मूसँग भेटघाट हुनेछ ।
कतिपय विश्लेषकहरूले चीनसँग भुटानको निकटता बढिरहेको बताइरहेका बेला भुटानी राजाको भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ ।