एजेन्सी । पाकिस्तानको रमजान खाद्य वितरण केन्द्रमा भएको भागदौडमा ११ जनाको मृत्यु भएको छ ।
दक्षिणी सहर कराँचीको एक खाद्य वितरण केन्द्रमा खाद्य सामग्री संकलन गर्न भेला भएका सर्वसाधारणबीच भएको भागदौडमा मृत्यु हुनेहरुमा ८ महिला र ३ बालबालिका रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सो घटनामा परेर कयौं व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खाद्यान्न जम्मा गर्न भेला भएकामध्ये एक जना नजिकैको नालीमा खसेसँग भागदौड भएको थियो ।
सो क्रममा पर्खाल भत्किएपछि मानवीय क्षति भएको बताइएको छ । खाना वितरण गर्नेहरुले प्रहरीलाई खबर नगर्दा भीड व्यवस्थापन गर्न नसकेको बताइएको छ ।
गत साता मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना व्रत सुरु भएयता निःशुल्क खाना वितरण केन्द्रहरुमा मागदौडमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
आर्थिक संकट झेलिरहेको पाकिस्तानमा खाद्यान्नका लागि सर्वसाधाणले संघर्ष गरिरहेका छन् । सरकारले गत साता रमजानमा न्यून आय भएका परिवारलाई निःशुल्क पिठो दिनेगरी मूल्यवृद्धि र गर्नुका साथै खाद्यान्न वितरण केन्द्रहरु स्थापना गरेसँगै खाद्यान्न संकलन गर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ ।