सरोकारवालाको प्रश्न- ‘रविको धम्कीप्रति राज्य किन मौन ?’
‘रवि लामिछानेको हिजोको अभिव्यक्तिबाट प्रेसमाथिको आक्रमण अझै पनि नटरेको देखिन्छ, उनलाई यस्तो बोल्न केले प्रेरित गर्यो ?’ महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष महेन्द्र विष्टले भने, ‘राज्यले यसलाई कसरी हेर्छ ? जवाफ दिनुपर्छ ।’ उनले यसलाई सामान्य रुपमा लिन नहुने भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए । कानुनलाई हातमा लिएर खुलेआम सञ्चारगृह घेर्छु भन्ने धम्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौ ती थपेको उनले बताए ।
महासंघका सल्लाहकार निर्मला शर्माले राजनीतिक दलका नेताबाट होस् वा अन्यबाट मिडियामाथि आक्रमण गर्ने कार्य जारी रहेकाले सरकार यसप्रति जिम्मेवार हुनुपर्ने बताइन् । ‘सामाजिक सञ्जाल र युट्युबले यस्तो कार्यलाई अझ बढी प्रोत्साहित गरिहेको छ,’ उनले भनिन्, ‘रविको हिजोको व्यवहार प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको गम्भीर प्रहार हो ।’