तालिबानले पाकिस्तानी नियोगमा सुरक्षा सतर्कता बढायो

114

काठमाडौँ– दुई पक्षबीच सम्बन्धमा तिक्तता आएको आशंका बढिरहेका बेला अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको छ । राजनीतिक एवम् कूटनीतिक रुपमा खतरा उत्पन्न हुनसक्ने भन्दै तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको अफगान डायस्पोरा नामक समाचार संस्थाले जनाएको छ ।

यसबाहेक अफगानिस्तानको राजधानी काबुल आसपास शंकास्पद व्यक्तिहरुको गतिविधिलाई पनि तालिबानले निगरानी गरिरहेको जनाइएको छ । काबुलस्थित दूतावाससँगै जलालावाद सहरमा रहेको पाकिस्तानी नियोगमा पनि तालिबानले सतर्कता बढाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो समय पाकिस्तानी पक्षले अफगानिस्तानसँग सीमा छुट्याउने ड्युरण्ड लाइन वारपार बसोबास गर्ने पश्तो समुदायका मानिसहरुलाई निशाना बनाइरहेको बताइएको छ । यसअघि दुई मुलुकका सुरक्षाबलबीच अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा भएको झडपका क्रममा एक अफगान महिलाको ज्यान गएको समाचार सार्वजनिक भएको थियो ।

Leave a comment