ओलीमाथि भीम रावलका गम्भीर आरोप

90

काठमाडौं ।
एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष केपी ओलीमाथि आरोपको वर्षा गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलनमार्फत पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेका रावलले ओलीमाथि आरोपको वर्षा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले ‘२०७९ मंसिर ४ गते हुने आमनिर्वाचनमा उम्मेदवारी रोकिएको सम्बन्धमा भीम रावलको धारणा’ शीर्षकको १६ पृष्ठ लामो दस्ताबेज पेस गरे । त्यहाँ उनले विगतमा नेकपा गठनदेखि विघटनसम्मका घटना, प्रतिनिधिसभा विघटनका घटनामा, एमाले पुनः एकीकरणका सवालमा, पार्टी सञ्चालन, महाधिवेशन, जिम्मेवारी र कार्यविभाजन तथा आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा टिकट वितरणसम्मका क्रममा ओलीबाट भएका त्रुटिहरूको फेहरिस्त प्रस्तुत गरेका छन् ।

विदेशीको षड्यन्त्रमा परेर मेरो टिकट खोसियो : रावल

एमाले नेता भीम रावलले विदेशी शक्तिहरूको षड्यन्त्रमा परेर आफ्नो टिकट खोसिएको बताएका छन् । पार्टी नेतृत्वले टिकट नदिएपछि पहिलोपटक पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका रावलले पार्टी नेतृत्व विदेशी शक्तिको षड्यन्त्रको साधक बनेको आरोप लगाए ।

‘मेरो उम्मेदवारी रोकिनुमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरूले गाँज्दै आएको राजनीतिक परिवेशका बाहकहरू जिम्मेवार रहेको सर्वत्र चर्चा छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘२००७ सालपछिको कुरा गर्दा पनि देशभक्ति र स्वाभिमानको बाटोमा दृढतापूर्वक उभिँदा सुदूरपश्चिमका भीमदत्त पन्तलाई भारतीय सेना बोलाएर हत्या गरिएको र जननेता मदन भण्डारीलाई त्रिशूली नदीमा खसालिएको दुर्दान्त इतिहास हाम्रासामु छ ।’

उनले तर सँगै न्याय र स्वतन्त्रताका लागि एवं बाह्य आक्रमणकारीविरुद्ध वीरतापूर्वक लडेको नेपालीको देशभक्तिपूर्ण गौरवशाली इतिहास पनि जीवित रहेको उल्लेख गरे । उनले एमाले पार्टी कसैको निजी स्वार्थ पूरा गर्ने साधन नभएको जिकिर गरे ।

Leave a comment