काठमाडौं । चुनावको मुखमा गठबन्धन छाडेर एमालेसँग गएको जसपामाथि प्रधानमन्त्रीले एक्सन लिने भएका छन् । अन्तिम समयमा धोका दिएका जसपा अध्यक्ष उपेन्द्र यादवमाथि प्रधानमन्त्री शेरबहादुर देउवाले एक्सन लिने भएका हुन् ।
सत्ता गठबन्धनका एक नेताकाअनुसार देउवाले उपेन्द्र यादवका पार्टीका मन्त्रीहरु हटाउने तयारी गरेका हुन् । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह गरी चार मन्त्री सरकारमा छन् ।
गठबन्धनको सरकारमा बस्ने र तालमेल भने प्रतिपक्षी एमालेसँग गरेर उपेन्द्रले द्वैध चरित्र देखाएपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीलाई बर्खास्त गर्न लागेका हुन् । यो निर्णय लिन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दैछ ।