पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नागरिकता विधेयकको विरोध
पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता विधेयकको सांकेतिक रुपमा विरोध गरेका छन्। उनले बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको दाबी गरेका छन् ।
दशैंको अवसरमा भिडियो सन्देश जारी गरेका शाहले राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै अहिले बलियो मियो आवश्यक रहेको दावी गरेका छन्। ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ’ उनले भनेका छन्–‘नेपाललाई फेरि महान बनाउनु परेको छ।’
एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् । ‘बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’
देशले कहिल्यै पनि हार्न नहुने बताएका उनले अहिले देशलाई दाउमा लग्ने अवस्था बनेको जनाएका छन्। ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ’ शाहले अगाडि भनेका छन्–‘परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।’ नेपाल आज