नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको ‘अग्निपथ भर्ती’ तत्काललाई फिर्ता हुन्छ : भारतीय सेनाध्यक्ष

75

काठमाडौँ — भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने बताएका छन् । युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको एक कार्यक्रममा सेनाध्यक्ष पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको कोटा अन्यलाई दिने बताएका हुन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले सेनाध्यक्ष पाण्डेको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘मलाई लाग्छ नेपालले नोभेम्बर २० मा हुने आमनिर्वाचनअघि कुनै निर्णय गर्नेछैन। यो निर्णय लिने नलिने कुरा उहाँहरूकै हो ।

भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय नेपाल सरकारले आगामी निर्वाचनसम्म नगर्ने भएको छ । अग्निपथ कार्यक्रमअन्तर्गत नेपाली युवाको सैनिक भर्तीमा सहयोग गर्न भारतले आग्रह गरे पनि यहाँको चुनावी सरकारले त्यस विषयलाई थाती राख्ने भएको हो ।

नेपाल सरकारले सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ । भारतीय पक्षलाई केही समय पर्खिन भनिए पनि अहिलेको सरकारले यस विषयमा निर्णय नदिने परराष्ट्र स्रोतले जनाएको छ ।

नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो । अग्निपथमा भर्ती भएकामध्ये २५ प्रतिशतलाई नियमित सेनामा राख्ने र ७५ प्रतिशतलाई चार वर्षपछि फिर्ता पठाउने नयाँ सैनिक कार्यक्रम भारतीय सरकारले ल्याएको हो ।

‘अग्निवीर’ का रूपमा भर्ती हुने सैनिकमध्ये ७५ प्रतिशत चार वर्षपछि करिब ११ लाख भारुसहित फिर्ता हुनेछन् । चार वर्ष हतियार र विस्फोटक पदार्थ चलाउन सिकेर फेरि बेरोजगार हुने युवाका लागि कस्तो नीति बनाउने भन्ने विषयमा नेपाल सरकारले छलफल गरेको छैन । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुनुपर्ने र यसले अध्ययन र भविष्य अस्तव्यस्त हुने भन्दै भारतमा युवाले हिंसात्मक प्रदर्शन गरेका थिए । तर भारत सरकारले भर्ना प्रक्रिया अघि बढाइसकेको छ ।

भारत सरकारले पेन्सन बजेट कटौतीका लागि अघि सारेको सैन्य सुधार कार्यक्रमअन्तर्गत ‘अग्निपथ’ योजना ल्याएको हो । यसअन्तर्गत १७ देखि २३ वर्षसम्मका युवालाई ‘अग्निवीर’ का रूपमा भर्ना लिइँदै छ । ‘अग्निवीर’ हरूले मासिक ३० हजार भारु तलब पाउनेछन् । पेन्सनसहितको अन्य सुविधा भने हुने छैनन् ।

‘अग्निपथ’ योजनाअघि नै भारतीय सेनामा नेपाली भर्ती घटेको पनि टाइम्स अफ इन्डियाले जनाएको छ । यसअघि वार्षिक ४ हजारभन्दा नेपाली युवा भारतीय सेनामा भर्ती हुने गरे पनि गत वर्ष भने १ हजार ५ सय मात्र भर्ती भएको उसले जनाएको छ ।

सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती सुरु भएको हो ।

अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिब ३० हजार नेपाली सेवारत छन् । पछिल्लो समय भारतीय सेनामा दार्जीलिङ, देहरादुन, धर्मशालालगायतका ठाउँबाट समेत नेपालीभाषी भारतीयलाई गोर्खा राइफल्समा भर्ती लिन थालिएको छ । ईकान्तिपुर

Leave A Reply

Your email address will not be published.