काठमाडौं । कहिले भूकम्प, कहिले कोरोना त कहिले पहिरो विभिन्न बाहानामा चिनियाँ पक्षले एकतर्फी रुपमा नाका बन्द गर्दा यतिखेर नेपाली बजार प्रभावित भएको छ ।
बन्द हुँदै खुल्दै गरेको नाका तातोपानी र रसुवागढी नाका गत हप्तादेखि ठप्प भएकाे छ । चाडपर्वका लागि ल्याईएका सामानबीच बाटोमै अलपत्र पर्दा व्यापारी मात्र मारमा परेका छैनन् । यसको प्रत्यक्ष रुपमा प्रभाव उपभोक्ताले व्यहोर्नुपरेको छ। दैनिक रसुवागढी ३ र तातोपानी नाकाबाट मुलुकले ४ करोड बढीको राजस्व घाटा व्यहोर्नुपरेको छ ।
गत वर्ष नै दशैं तथा तिहार लक्षित कपडा आयात गरिएको सामान चीनबाट अझै नेपाल आइनपुगेको व्यवसायीको गुनासो छ । नेपालबाट निर्यात ठप्प रहेको अवस्थामा आयातित वस्तुमा पनि विभिन्न प्रावधान राख्दै नाका बन्द हुँदा विशेषगरी नेपाली व्यापारी मारमा परेका हुन् ।
नेपालका व्यवसायीले अर्बौं रकम लगानी गरेर खरिद गरेको सामान सडक र गोदाममा थन्किदा लगानी डुबेर व्यापारी पलायन हुने अवस्थामा पुगेको गुनासो छ । यससँगै सहकारी तथा बैंकबाट ऋण लिएर व्यापार गरेका व्यापारी धरापमा परेका छन् ।
यता नाका खुलाउन परराष्ट्र मन्त्रालयका पदाधिकारिकै कमजोरीका कारण व्यापारीको अर्बाैं लगानी डुबेको नेपाल समुन्द्रपार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका महासचिवको आरोप रहेको छ । चीनमा पुन कोरोना बढ्न थालेका कारण केही समय सञ्चालनमा आएको नाका गत बुधबारदेखि ठप्प भएको हो ।
तर नेपालका व्यापारी भने चाइनाबाट नेपाल भन्दा भारत सामान छिटो पुग्ने तर नेपालका नाका बन्द हुनुमा भने अप्रत्यक्ष रुपमा राजनीतिक विषय जिम्मेवार भएको आरोप व्यापारीले लगाएका छन् ।
पहिलेको तुलनामा १० प्रतिशत चीन र बाँकी भारतबाट सामान भित्रिने गरेको छ । चीनबाट नाकामा सामान आईपुग्न १० दिन जति लाग्ने भएपनि विभिन्न कारण देखाउदै महिनौं लगाईदिने झन्झट त छदैछ ।
त्यससँगै घर-भाडा नघट्ने, व्याज तिर्न समय समेत नदिने नेपालका नियमनकारी निकायबाट व्यापारी आजित भएका छन् ।