अफगानिस्तानमा अहिले सन् २००१ को तुलनामा एकदमै ठूलो खतरा
अफगानिस्तानमा अहिले सन् २००१ को तुलनामा एकदमै ठूलो खतरा छ।”
एउटा चर्चित तालिबान विरोधी प्रतिरोध समूहका नेताका छोराबाट यो भनाइ आएको हो।
अहमद मसुद अहिले ३३ वर्षका भए तर उनले आफ्ना पिताको पदचाप पछ्याइरहेका छन्।
उनका पिता एक जना पाका कमान्डर अहमद शाह मसुद हुन जसलाई ‘पन्जशिरको सिंह’ का रूपमा पनि लिने गरिन्छ। सो परिवार काबुलको उत्तरमा पर्ने उक्त प्रान्तबाट नै आएको हो।
सन् २००१ को सेप्टेम्बर ११ को दुई दिन अघि उनका पितालाई अल कायदाका सदस्यहरूले मारिदिएका थिए।
तालिबान शासनकालको अन्तिम दिनहरूमा यो घटना भएको थियो। त्यसबेला अफगान इस्लामवादी समूहले अरू जिहादी समूहहरूलाई पनि आफ्नो भूमिमा गतिविधि गर्न दिइरहेको थियो।
अहिले ती कमान्डरका छोरा इतिहास फेरि दोहोरिने आशङ्का गर्छन्।
‘आतङ्कवादीहरूको सुरक्षित आश्रय स्थल’
अहमद मसुदले आफ्नो देश फेरि विश्वमा उग्रवादी विचारधारा सम्प्रेषित गर्दै आएका आईएसआईएस र अल-कायदासहित विश्वभरका दर्जनौँ आतङ्कवादी समूहहरूका लागि सुरक्षित आश्रयस्थल बनेको बताए।
विदेशी सैनिक फिर्तीसँगै पश्चिमा समर्थन पाएको अफगान सरकार गएको अगस्ट महिनामा ढलेको थियो।
दुई दशकभन्दा बढी समयसम्म विदेशी फौजहरूविरुद्ध लडाइँ लडेपछि उनीहरू सत्तामा आएका थिए।
बीबीसीलाई दिएको विशेष अन्तरवार्तामा अहमद मसुदले विश्वले अफगानिस्तानलाई बेवास्ता गरिरहेको बताए। उनले आफ्नो देशलाई राजनीतिक स्थिरता चाहिएको भन्दै तत्कालै ध्यान दिइनुपर्ने उल्लेख गरेका छन्।
उनले आतङ्कवादी समूहहरूले पछिल्लो सङ्कटलाई विदेशी स्वार्थहरूमाथि निशाना साँध्न प्रयोग गर्ने बताए।
उनका पिता अहमद शाह मसुदले सन् २००१ को सेप्टेम्बर ११ अघि त्यस्तै चेतावनी दिएका थिए।
अहमद मसुदले उनको पिताले दिएको चेतावनीलाई बेवास्ता गरिएको र विश्वले त्यसपछि त्यसको परिणाम भोग्नुपरेको बताए। उनले अफगानिस्तानको पछिल्लो अवस्था आफ्नो पिताको समयभन्दा धेरै खराब रहेको जनाए।
उनी भन्छन्, “मेरो विश्वास के छ भने विश्व त्यसमा पनि मूख्य गरी युरोपले अफगानिस्तानबाट निम्तने जोखिमको गम्भीरतालाई बुझ्नेछ र उपयुक्त ढङ्गले हस्तक्षेप गरेर अफगानिस्तानमा एउटा जबाफदेही र वैधानिक सरकार बनाउन सहयोग गर्नेछ।”
लड्नका लागि बाध्य’
अहमद मसुदले ब्रिटेनले आफ्ना सैनिक अधिकृतहरूलाई तालिम दिने रोयल मिलिटरी एकेडेमी स्यान्डह्रस्टमा एक वर्षको तालिम लिएका छन्। त्यसपछि उनले वार स्टडिजमा लण्डनस्थित किङ्ग्स कलेजबाट अध्ययन पूरा गरे।
उनी देशमा देखिएको सङ्कटको राजनीतिक लेनदेनका आधारमा समाधान खोजिनुपर्ने बताउँछन्।
तर तालिबानहरूले आफूलाई प्रतिरोध गर्ने र उनीहरूको ‘मानवता विरोधी अपराधविरुद्ध’ लड्नुको विकल्प नदिएको उनको भनाइ छ।
गएको अगस्टमा तालिबान सत्तामा फर्किएपछि अहमद मसुद पन्जशिरस्थित आफ्नो गृह नगर फर्किए र उनले न्याश्नल रेजिसटेन्ट फ्रन्टको गठन गरे।
अहिले मसुदले ३ हजार भन्दा बढी सशस्त्र लडाकूको नेतृत्व गर्छन्। पछिल्लो ११ महिनामा उनका फौजहरूले मूख्यगरी तालिबानसँग पन्जशिर उपत्यका र पर्वतीय क्षेत्र तथा छिमेकमा रहेको बाघलान प्रान्तमा पर्ने रणनीतिक जिल्ला अन्दराबमा लडिरहेका छन्।
तालिबानले अफगानिस्तानभर सुरक्षा कायम गरेको भन्ने दाबीलाई उनीहरूले चुनौती दिँदै आएका छन्।
सन् १९९० को दशकको अन्त्यमा आफ्ना पिताले तालिबानविरुद्ध गरेको सङ्घर्षको विपरीत अफगानिस्तानले अहिलेसम्म अहमद मसुदले तालिबानविरुद्ध अघि बढाएको सशस्त्र प्रतिरोधलाई स्वीकार गरिसकेको छैन।
अघिल्लो महिना यूके सरकारले एउटा विज्ञप्ति जारी गर्दै हिंसाको माध्यमबाट राजनीतिक परिवर्तनको उद्देश्य राखेका अफगान नागरिकसहित कसैलाई पनि समर्थन नगर्ने जनाएको थियो। उसले राजनीतिक उद्देश्यसहित हिंसालाई बढवा दिने कदमलाई पनि समर्थन नगर्ने उल्लेख गरेको थियो।
तालिबानले यूकेको अडानको स्वागत गरेका थिए।
तर अहमद मसुद उक्त धारणा ‘नैतिक प्रश्न उठाउने खालको’ भएको टिप्पणी गर्छन्। उनले दशकौँसम्म पश्चिमा शक्तिहरूले तालिबानविरुद्ध सैन्य अभियान चलाएको उल्लेख गर्दै अहिले विश्व शक्तिहरूले उनीहरूसँग लड्नु अस्वीकार्य हुने धारणा राख्न कसरी मिल्छ भनेर प्रश्न गर्छन्।
उनले न्याय र स्वतन्त्रताका लागि लड्ने अधिकार अफगान नागरिकसँग भएको उल्लेख गरे।
“नैतिक रूपमा यो समर्थन गरिनुपर्ने मुद्दा हो।”
हतियार र रकमको अभाव
न्याश्नल रेजिस्टेन्स फ्रन्टका नेताले आफ्ना लडाकुसँग तालिबानभन्दा कम श्रोत रहेको बताए।
तर उनले उच्च नैतिक बल र प्रेरणाका कारण प्रतिरोध चलिरहेको बताए।
“हामी सन् २०२२ मा छौँ। एउटा नयाँ पुस्ताले एउटा नयाँ अफगानिस्तान चाहन्छ जहाँ उनीहरूले आफ्नो भविष्य निर्धारण गर्न सकून्।”
अहमद मसुदले यूके सहितका विश्व शक्तिहरूलाई अफगानिस्तानको नागरिकको पक्षमा उभिन र राजनीतिक समाधान स्वीकार्न तालिबानलाई दबाव दिन अनुरोध गरेका छन्।
तालिबानले काबुलमा सत्ता हातमा लिएको एक वर्ष पुग्न लाग्दा कुनै पनि देशले उनीहरूको सरकारलाई मान्यता दिएको छैन। तर रुससहित कैयौँ देश तथा शक्तिहरूले आफूहरूले तालिबान सरकारसँग सामान्य खालको सम्बन्ध राख्न इच्छुक रहेको जनाएका छन्।
अहमद मसुदले तालिबानलाई मान्यता नदिन चेतावनी दिएका छन्। उनले त्यस्तो निर्णय लिने कुनै पनि देश तालिबानको अधिनायकत्व र गम्भीर अपराधका लागि दोषी हुने बताए।
उनले पन्जशिर, अन्दराब र अरू ठाउँहरूमा गैर कानुनी रूपमा सर्वसाधारणको गिरफ्तारी, यातना र हत्यामा तालिबान दोषी रहेको बताए। संयुक्त राष्ट्रसङ्घले पनि यी हत्याको निन्दा गरेको छ।
अहमद मसुदले तालिबानले पक्राउ गरेका ९७ प्रतिशत आफ्नो मोर्चासँग आबद्ध नरहेको उल्लेख गर्दै तालिबानहरूले आफूलाई मनोवैज्ञानिक दबाव दिन खोजेको बताए।
मसुदले पीडितका परिवारसँग माफी माग्दै सीमित स्रोतसाधनका कारण आफूले उनीहरूलाई सहयोग गर्न नसकेको बताए।
वार्ताका लागि आह्वान
उनले राजनीतिक वार्ताहरूमात्रै अहिलेको सङ्कट समाधानको उपाय भएको बताए।
मसुदले आफूले तालिबानका विदेशमन्त्रीसँग आफूले ६ महिनाअघि तेहरानमा प्रत्यक्ष भेटवार्ता गरेको भएपनि त्यसमा खासै प्रगति नभएको सुनाए।
उनले तालिबानलाई आरोप लगाउँदै अहिलेको विन्दुमा उनीहरू राजनीतिक समाधानलाई स्वीकार गर्नुपर्छ भन्ने पक्षमा पुगिनसकेको बताए।
तर तल्लो तहका तालिबानहरू अझ खुल्ला रहेको र समावेशी प्रक्रियाको पक्षमा रहेको सङ्केतहरू देखिएको उनको भनाइ छ। उपल्लो नेताहरूमा पनि त्यस्तै समझ देखा पर्ने विश्वास उनले गरे।
तर आफू एक्लैले लामो लडाइँ लड्नुपर्नेबारे जानकार रहेको उनले उल्लेख गरेका छन्।
“विश्वले अफगानिस्तानका नागरिकलाई धोका दिएको छ। विश्वव्यापी आतङ्कवादसँग एक्लै लड्न हामीलाई छाडिएको छ।” बिबिसी बाट साभार