बारा को पचरौताका नगर प्रमुख सिंहले जनप्रतिनिधिलाई गराए सपथ ग्रहण
श्यामल कुमार गिरी
१६ जेष्ठ बारा । बारा जिल्लाको पचरौता नगरपालिकामा नव निर्वाचित नगर प्रमुख जलन्धर सिंहले उमप्रमुख नसिमा खातुन लगायत सम्पुर्ण जनप्रतिनिधिहरुलाई हिजो एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् । सपथ ग्रहण पालिका कै सभाहलमा गराएका हुन् ।
कार्यक्रममा पुर्व मन्त्रि खड्ग प्रसाद शर्मा ओलीका जन सम्पर्क सल्लाहकार तथा नेकपा एमालेका पोलिट ब्युरो सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यमा नगर प्रमुख सिंहले मन्तव्य व्यक्त गर्दै पचरौता नगरवासीको सहुलियतका लागि बिभिन्न किसिमका घोषणाहरु गरेका छन् ।
नगर प्रमुख सिंहले नागरिकता प्रमाण पत्र, सर्जमिन, प्रतिलिपि दस्तुर, जन्म दर्ता दस्तुर, मृत्यु दर्ता दस्तुर, जन्म मिति प्रमाणित दस्तुर, बिबाह दर्ता दस्तुर, अविवाहिक प्रमाणित दस्तुर, दलितरमधेशीरअपांग प्रमाणितको लागि सिफारिस दस्तुर, अंग्रेजी माध्यममा सिफारिश तथा प्रमाणित दस्तुर, घर पताल प्रमाणित दस्तुर, नाता प्रमाणित दस्तुर, जीवित सँगको नाता प्रमाणित दस्तुर, हकवाला वा हकदार प्रमाणित दस्तुर, चार किल्ला प्रमाणित दस्तुर, संरक्षण प्रमाणित दस्तुर, बिधुत मिटर प्रमाणित दस्तुर, घरबाटो सिफारिश दस्तुर, संस्थागत र व्यक्तिगत संरक्षण प्रमाणित दस्तुर, फरक नाम थर जन्म मिति प्रमाणित दस्तुर, बाटो प्रमाणित दस्तुर, नाम फरक तथा एउटै हो प्रमाणित दस्तुर, बैबाहिक अंगकृत नागरिकता सिफारिश दस्तुर, प्रचलित कानुन बमोजिम प्रायोजित अधिकार बमोजिम अन्य सिफारिश वा प्रमाणित गर्ने दस्तुर पुर्ण रुपमा छुट गर्ने निर्णय गरेका छन् । त्यस्तै नगरमा १०० बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण , बारा, पर्सा रौतहट तथा छिमेकी राष्ट्र भारतको बिहार राज्यको मोतिहारी सम्म निःशुल्क एम्बुलेन्स सेवा, सामुदायिक बिधालयहरुमा नयाँ शैक्षिक सत्र देखि नै बाल विकास शिशु कक्षामा अंग्रेजी माध्यममा पढाई हुने, बिधालय भर्ना अभियान कार्यक्रम संचालन, महिला हिंसा सम्बन्धि कार्यक्रम संचालन र किसानहरुको कृषि बिद्युतत महसुल निःशुल्क गर्ने पनि निर्णय गरेका छन् । त्यस पालिकामा जसपा पार्टिबाट नव निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित रहेकाले नगर प्रमुख सिंहले तिता मिठा कुरालाई नजर अन्दाज गर्न आग्रह गर्दै अब आउने समयमा एउटा पार्टिको मात्र सदस्य नभई सिंगो नगरका लागि सम्पुर्ण जनप्रतिनिधि एक जुट भई जनताका हक हितका लागि काम गर्नु पर्ने भएकोले समय मै आएर सपथ ग्रहण गर्न र आफ्ना आफ्ना पदभार सम्हाली बिकासका लागि अघि बढ्न अनुरोध गरेका छन् । कार्यक्रममा लोसपा पार्टिबाट निर्वाचित वडा नम्बर १ का वडाध्यक्ष बिनय कुमार सिंहले भोजपुरी भाषामा सपथ ग्रहण गरेका थिए भने प्रमुख अतिथि मैनालीले भोजपुरी भाषामा आफ्ना मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यस्तै लोसपाका नेता बिरेन्द्र कुमार सिंह, नेकपा एमाले नगर कमिटिका अध्यक्ष सुरेश साह कानु लगायतका व्याक्तित्वहरुले शुभकामना मन्तव्य दिएका थिए । त्यस पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादवले अबिर, फुलमाला र दोसल्ला ओढाउदै तथा नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गर्दै सम्मान गरेका थिए ।
सो सपथ ग्रहण कार्यक्रमको बिशिष्ट अतिथिमा जयप्रकश यादव, बिनय सिंह, धेनुक राउत कुर्मी लगायतका बौद्धिक व्याक्तिहरु, पालिकाका कर्मचारीहरु, सुरक्षाकर्मी, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगायत बिभिन्न पत्र पत्रिकाका संचारकर्मीहरु र शुभचिन्तक पालिकाबासीहरुको उपस्थिती रहेका थिए ।