पाकिस्तानी एजेन्टलाई ओटीपी दिएको आरोपमा पक्राउ परेका दुई युवकको पहिचान सार्वजनिक

पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरमा ह्वाट्सएप खाता खोल्न ओटीपी उपलब्ध गराएको आरोपमा पक्राउ परेका दुई युवकको भारतीय प्रहरीले पहिचान सार्वजनिक गरेको छ।
भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रक्सौल ११ का आदित्य पाण्डेय र मधुबनी जिल्ला घर भई रक्सौल बस्दै आएका राजा कुमार रहेका छन्।उनीहरूलाई आन्ध्र प्रदेशको विजयवाडा प्रहरीले रक्सौल प्रहरीको सहयोगमा मंगलवार पक्राउ गरेको हो।
प्रहरीका अनुसार दुवै युवकले कथित पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरमा ह्वाट्सएप खाता खोल्न आवश्यक पर्ने ओटीपी उपलब्ध गराउने र त्यसबापत रकम लिने गरेको आरोप छ। प्रहरीले उनीहरूको मोबाइल फोनबाट रकम भुक्तानीसँग सम्बन्धित प्रमाण फेला परेको दाबीसमेत गरेको छ।
घटनालाई भारतविरोधी गतिविधि तथा कथित साइबर जासुसीसँग जोडेर अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यद्यपि, पक्राउ परेका दुवै युवकमाथि लगाइएका आरोप पुष्टि भइसकेका छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको र आरोप प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने जनाइएको छ।



